गोदावरी खण्डको ६ लेन सडकमा बत्ती जडानको काम अन्तिम चरणमा

शुक्रबार श्रावण १७, २०८२/ Friday 08-01-25
Paschim Today

अत्तरियाः मोहना अत्तरिया ६ लेन सडकको गोदावरी खण्डमा स्ट्रिट लाइट जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

नगरपालिकाले सम्झौता गरेको करिब अढाई वर्ष पछि सुरु भएको निर्माण कार्य बल्ल अन्तिम चरणमा पुगेको हो। सो क्षेत्रमा तारहरू तानेर पोल ठड्याउने काम भइरहेको छ। निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रा.लि.का इन्जिनियर रबिन महतोले तार तान्ने काम सकिएर पोल ठड्याउने काम भइरहेको बताए।

उनले साउनको अन्तिम सम्म जडान सहितका अन्य कामहरू सकेर भदौ पहिलो हप्तादेखि बत्ती बाल्ने योजना रहेको बताए। ‘साउनको अन्तिम सम्म पोल ठड्याउने,कनेक्सन मिलाउने, सफ्टवेयर सेट अप लगायतका कामहरू सक्ने गरी काम गरिरहेका छौ’ उनले भने ‘त्यति भरसकेपछि भदौ पहिलो हप्ता हामीले बत्ती बाल्ने छौ।’ उनले अन्डरग्राउण्डीङ तार जडान गर्नुपर्ने र कनेक्सन पनि मिलाउनुपर्ने भएकाले केही समय लाग्न सक्ने बताए।

बत्तीको कन्ट्रोल बक्स पनि फिट गर्न बाँकी रहेको उनले बताएका छन्। उनले आफूहरूले गरेको सम्झौता अवधि भन्दा छिटो काम सक्ने गरी काम धमाधम भइरहेको उनको भनाइ छ। ‘हाम्रो सम्झौता अनुसार ६ महिना अझै बाँकी छ’ उनले भने ‘तर हामीले सम्झौता अवधि भन्दा चाँडो काम सक्काउने लक्ष्य लिएका छौ।’

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना काठमाण्डौसँग अक्टोबर २०२४ मा सडक बत्ती जडानका लागि सम्झौता भएको छ। जसको अवधि एक वर्षको रहेको उनले बताए। इन्जिनियर महताले सडक बत्तीका पोलहरू आयोजना कार्यालयले दिनुपर्ने र बाँकी कार्य कम्पनीले गर्ने गरी आयोजना कार्यालयसँग सम्झौता भएको बताए। उनले आयोजना कार्यालयले सम्झौता गरेको करिब ६ महिनासम्म पनि पोल नदिँदा काममा ढिलाइ भएको बताए।

सम्झौता अनुसार आफूहरूले फिलिप्स कम्पनीका बल्बहरू ल्याएको बताउँदै उनले उक्त बल्बहरू आधुनिक प्रविधिको स्मार्ट बल्बहरू रहेको बताए। ‘अहिलेका बल्बहरू पनि आधुनिक प्रविधिका छन्’ उनले भने ‘हामीले जस्तो १०० वाटको बल्ब बाले त्यो बिहान सम्म १०० वाटमै बल्छ, जसले गर्दा विद्युत् बढी खपत हुन्छ’ उनले भने ‘तर यी बल्बहरू हामीले उज्यालो बढी चाहिएको समयमा बढी र कम चाहिएको समयमा कम बाल्न सक्छौ, त्यो कार्य सफ्टवेयर बाट हुन्छ।’

उनका अनुसार एउटा पोलमा दुवै साइडतिर १२० वाटका दुई ओटा बल्बहरू रहनेछन्। ती बल्बहरू बाल्ने सिस्टम पनि फरक रहेको उनले बताए।नगरपालिकाको २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर ६ लेन सडकमा सडक बत्ती जडान गर्ने निर्णय गरेको थियो।