हमाल हुर्किएको त्यो कन्द्रा नदी किनार, जहाँ उनको भयो अन्त्येष्टि

धनगढी, १७ साउन ।
लालबोझी र भजनीलाई छुट्याउने कन्द्रा नदी । त्यही नदी किनारमा हुर्किएका थिए, सुरेश हमाल । नदी किनारको चौर, जहाँ उनले फुटवल खेले । जहाँ सिके, तेक्वान्दो ।
बुधवार उपचारका क्रममा भारतको बरेलीमा मृत्यु भएका हमालको शुक्रवार त्यही कन्द्रा किनारमा अन्त्येष्टि गरियो ।
उनको अत्येष्टिमा जनप्रतिनिधि, विभिन्न पार्टीका नेता, सुदूर पश्चिमका बिभिन्न खेलका खेलाडीहरु र सयौंको संख्यामा स्थानीय बासिन्दाहरु सहभागी भएका थिए ।
अन्त्येष्टिका क्रममा उनको पार्थिव शरीरमा सुदूर पश्चिम ११ स्पोर्टस क्लव र नेपाली काँग्रेसको झण्डा ओढाईएको थियो । नेपाली काँग्रेस कैलालीका कार्यबहाक सभापति खेमराज चौधरी, युवा नेता पूर्व मन्त्री प्रकाश देउवाले हमालको पार्थिक शरीरमा काँग्रेसको झण्डा ओढाएका थिए ।
सुदूर पश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष गजेन्द्र शाही, सुदूर पश्चिम खेलकुद परिषदका पूर्व सदस्य सचिव दीपक बहादुर सिंह लगायत क्लवका पदाधिकारीहरुले सुदूर पश्चिम ११ स्पोर्टस क्लवको झण्डा ओढाए ।
अन्त्येष्टिमा सहभागी खेलाडी तथा नेताहरुले हमालको मृत्युले सुदूर पश्चिमको खेलकुदमा अपुरणीय भएको भन्दै दुःख व्यक्त गरे ।
सुदूरपश्चिममा फुटवलको विकासमा हमालको विशेष योगदान रहेको छ । हमालकै अगुवाई सुदूर पश्चिममा पहिलो पटक सञ्चालन भएको ए डिभिजनस्तरीय खप्तड गोल्डकपको छ संस्करणको आयोजना संभव भयो । उनकै नेतृत्वमा सुदूरपश्चिममा ए डिभिजनको फुटवल क्लवको स्थापना संभव भयो ।
तपाईको प्रतिक्रिया