दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली : धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुना टपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनीता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुना टपरी उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरूले सुरुमा वडा कार्यालयबाट दुना टपरी बनाउने तालिम लिएका थिए ।
वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुना टपरी बनाउने दुई वटा मेसिन नि:शुल्क उपलब्ध गराएको छ । मेसिनको प्रयोगले दुना टपरी उत्पादन गर्न अझै सहज भएको छ । दुना टपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुना टपरी बनाउने तालिमबाट आफूहरू आत्मनिर्भर बनेको बताइन् । उनले भनिन्, “यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ । जब दुना टपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ ।”
दिनमा एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दै आएको उनले बताइन् । जसबाट मासिक रु ३० हजार जतिको कारोबार हुने गरेको छ । दुना सानो साइजको रु ७० पैसा, एक नम्बरको रु. ८०, दुई नम्बरको रु. एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी रु साढे तीनमा बिक्री गर्ने गरेको उनले बताइन्।
दुना टपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताइन्। यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या टर्ने गरेको उनको भनाइ छ ।
दुना टपरी कारोबारबाट दुई वर्षयता समूहमा बचत गरेको रु. ६० हजारका दरले एक जनाको भाग परेको उनले बताइन् । “सुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ”, उनले भने, “जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सीप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ ।”
सुरुसुरुमा दुना टपरी बिक्रीका लागी समस्या हुने गरेता पनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीले बताइन् ।
तपाईको प्रतिक्रिया