२२ गतेको झगडापछि मेलमिलाप, भोलिपल्टै भीषण कुटपिट

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

कैलाली- कैलाली असार २८ गते कैलाली जिल्ला कारागारमा कैदीहरूबीच हिंसात्मक झडप हुँदा नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए। त्यसै दिन सिडिओ र एसपीकै अगाडि कैदीहरूले जेलर वसन्त खत्रीविरुद्ध नाराबाजी गर्दै कारागारभित्रको मनोमानी अन्त्य गर्न माग गरेका थिए ।

त्यो घटनाको चर्चा सेलाउन नपाउँदै बिहीबार फेरी झडप भयो । त्यसमा ६ जना घाइते भए । ती मध्ये एक जना अझै अस्पतालमै छन् ।
पटक पटक हुने आक्रमण पछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले कारागारमा सहज बनाउने बताएका थिए ।

शुक्रवार सञ्चारकर्मीहरूसँग प्रजिअ हमालले कैलाली कारागारको समस्या हल भइसकेको प्रतिक्रिया दिएका थिए । ‘कैदीका लिडरलाई बोलाएर सम्झाएका छौँ । अब त्यस्तो समस्या आउँदैन भनेर प्रतिबद्धता गराएका छौँ’ घटनापछि शुक्रवार मेलमिलाप गराउन गएका प्रमुख जिल्ला अधिकारी हमालले पत्रकारहरूलाई भनेका थिए ।

उनले शुक्रवारदेखि नै सुरक्षा रणनीति बनाउने बताए । ‘आजदेखि सुरक्षा रणनीति परिवर्तन गरेका छौँ । पुराना सुरक्षाकर्मीलाई हटाएर नयाँ सुरक्षाकर्मीलाई व्यवस्थापन गरिएको छ ’उनले भनेका थिए ।

कारागारमै पुगेर सुरक्षा बलियो बनाएको बताएको ८ घण्टा नपुग्दै कारागारमा ठुलो कुटपिट भएको हो । ‘हामीलाई घटना हुने भन्नेबारे पहिल्यै थाहा थियो । त्यहाँ विवाद भइरहेको थियो । हामीले प्रहरी प्रशासनलाई पनि भनेका थियौँ तर, कसैले चासो दिनुभएन’ शनिवार अस्पताल बाहिर भेटिएका घाइतेका एक आफन्तले भने ‘प्रहरीले प्रशासनले पहिल्यै चासो राखेको भए, यस्तो घटना हुने थिएन ।’

२२ गते भएको झडप पछि प्रमुख जिल्ला अधिकारीले कारागारमै गएर विवाद मिलाएको बताएका थिए ।‘कारागारमा भएको समस्या समाधान गर्ने प्रमुख जिल्ला अधिकारीज्यूले मिलाउनु भएको थियो तर त्यसको भोली पल्टै अर्को ठुलो घटना भयो ’ स्रोतले भन्यो ‘प्रमुख जिल्ला अधिकारी ज्यूले गम्भीरता देखाउनु भएको भए यस्तो अवस्था सृजना नहुन सक्थ्यो । ’

अधिकृत स्तरका कर्मचारी प्रमुख रहने कारागार अहिले खबरदारले नेतृत्व गरिरहेका गरिरहेका छन् ।कारागारको जिम्मेवारी पाएका खरदार रामकुमार चौधरीले प्रमुख जिल्ला अधिकारी अघिल्लो दिन आएर मेलमिलाप गराएको तर, मध्यरातमा आक्रमण भएको बताए ।

अहिलेसम्म १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइते परिवारहरूले उपचारमा चित्त बुझाएका छैनन् ।कैलाली कारागारको क्षमता १५० कैदीबन्दी भए पनि हाल करिब ७०० कैदीबन्दी छन् । अहिले पनि फेरी घटना हुनसक्ने भन्दै घाइते परिवार तथा कारागारमा रहेका अन्य कैदी बन्दीका परिवारले चिन्ता व्यक्त गरेका छन् ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टको नेतृत्वमा टोली पनि कारागार पुगेको छ । आयोगले घाइतेको अवस्था र अधिकार सुनिश्चितताबारे तथ्य सङ्कलन गरिरहेको जनाएको छ ।