रिलायन्स जिओ संसारको सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको भन्दै मुकेश अम्बानीले गरे झुटो दाबी

आइतबार श्रावण २६, २०८२/ Sunday 08-10-25
Paschim Today

काठमाडौँ । अर्बपति मुकेश अम्बानीले आफ्नो टेलिकम कम्पनी रिलायन्स जिओ संसारकै सबैभन्दा ठुलो दूरसञ्चार सेवा प्रदायक बनेको भन्दै झुटो दाबी गरेका छन् । ४८ करोडभन्दा बढी ग्राहकसँगै जिओ विश्वको सबैभन्दा ठुलो डेटा नेटवर्क बनेको भन्दै उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको जानकारी भ्रामक देखिएको हो । 

जब कि चाइना मोबाइलले जुन २०२५ सम्ममा फाइभजी नेटवर्कमा मात्रै ५९ करोड ९० लाख ग्राहक रहेको जनाएको छ । उसको कूल ग्राहक आधार एक अर्ब ५० लाख रहेको उल्लेख छ ।

 

स्रोतः चाइना मोबाइलस्रोतः चाइना मोबाइल

 उता रिलायन्स जिओको फाइभजी नेटवर्कमा १९ करोड १० लाख प्रयोगकर्ता छन् । पछिल्लो समय जिओ भारतको केन्द्र सरकारको इन्डिया एआई इनिसिएटिभमा समेत काम गरिरहेको छ । साथै, स्याटलाइट कम्युनिकेसन र सिक्सजी प्रविधिमा पनि जिओ अग्रसर बनेको छ ।

गत बिहीबार मात्रै जिओको स्वामित्व रहेको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनमा जिओ विश्वकै सबैभन्दा ठुलो टेलिकम अपरेटर बनेको दाबी गरेका छन् ।

स्रोतः रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एकीकृत वार्षिक प्रतिवेदन (२०२४-२५)स्रोतः रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एकीकृत वार्षिक प्रतिवेदन (२०२४-२५)

यद्यपि भारतमा जिओले आक्रामक ढङ्गमा फाइभजी प्रयोगकर्ता विस्तार गर्न सफल भइरहेको छ । गत वर्षको जुलाईमा सेवा प्रदायकहरूले डेटाको मूल्य वृद्धि गरेपनि जिओको डेटा खपतमा खासै असर परेको छैन ।

जिओसँगै उसको प्रमुख प्रतिस्पर्धी भारती एयरटेलले भारतभर व्यावसायिक रूपमा फाइभजी सेवा दिइरहेको छ । फाइभजीसँगै यी अपरेटरहरूले फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) र उच्च गतिको मोबाइल डेटा उपलब्ध गराइरहेका छन् । भोडाफोनले भने भारतका १७ सहरहरूमा फाइभजी नेटवर्क उपलब्ध रहेको जनाएको छ ।

जिओको नेटवर्क भारतका १ करोड ८० लाख घरहरूमा पुगिसकेको छ । जिओको फाइभजी एफडब्लूए सोलुसनको रूपमा जिओ एयर फाइबर भारतीय घरहरूमा पुगिरहेको छ । 

यस्तै, प्रतिवेदनअनुसार ३१ मार्च २०२५ सम्म जिओको डेटा खपत १८५ एक्साबाइट पुगेको छ । जिओको डेटा ट्राफिक मासिक १७ एक्साबाइट छ । वायरलेस डेटा ट्राफिकमा जिओको हिस्सा ६० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्विडिस टेलिकम उपकरण निर्माता एरिक्सनले भारतमा फाइभजी सब्स्क्रिप्सन सन् २०३० सम्ममा ९७ करोड पुग्ने प्रक्षेपण गरेको छ ।