सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्यायो

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रुपमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको जानकारी दिइन् ।
उनले भने, ‘नागरिकका गुनासा सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइयो । यसबाट नागरिकको भरोसा बढ्नेछ ।’
गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ ।
गुनासो व्यवस्थापन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ ।
केन्द्रले गुनासाहरुको सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ । केन्द्रमा रहने कर्मचारीहरुले सेवाग्राहीबाट प्राप्त गुनासा अध्ययन र वर्गीकरण गर्नेछन् ।
कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नुनपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
केन्द्रमा रहने कर्मचारीहरुले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासा भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखबाट तत्कालै सम्बोधन हुनेछ ।
शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकताअनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुनेछ ।
नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरु सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको वैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ ।
गुनासो व्यवस्थापन केन्द्रमा गुनासो सहजकर्ताहरु उपसचिव भुपेन्द्र सापकोटाको संयोजकत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली रहनुभएको मन्त्रालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया