अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन : झलनाथ

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता झलनाथ खनालबीच शनिबार पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ।
केही सातायता दुईजना नेताबीच जुहारी चलिरहेको छ । खनालले कार्यशैलीबारे प्रश्न उठाउँदा नेपालले निस्केर जानसमेत भनिसकेको छन् ।
खनालले २०७८ भदौमा नेकपा एमालेबाट छुट्टिएर बनेको समाजवादीले अहिलसम्म आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताइरहेका छन् ।
यस्तोमा अध्यक्ष नेपालले भने समाजवादी निर्माणको औचित्य पुष्टि भइसकेको, केपी ओलीले गरेको संसद् विघटन पनि बदर भएको बताउँदै खनालले जथाभावी बोलेको आरोप लगाइरहेका छन् ।
अध्यक्ष नेपालले खनाललाई एमालेमै फर्किएर केपी शर्मा ओलीको सेवा गर्न भनिरहेका छन् । उता खनालले पनि संकिर्णता बोकेर पार्टी नचल्ने बताउँदै नेतृत्व छाड्न नेपाललाई भनिरहेका छन् ।
दुई नेताबीचको विवादले पार्टीमा कलह बढेर फुटको अवस्थामा पुगेपछि दोस्रो तहका नेताहरू सक्रि भएका हुन् । शनिबार दोस्रो तहका नेताहरू राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल र घनश्याम भुसालले यी दुई नेतालाई आलोकनगरमा भेट गराए । पार्टी केन्द्रीय कार्यालयमा भएको भेटपछि खनालले आफू खिन्न भएको टिप्पणी गरे ।
नेपालप्रति आगो ओकलिरहेका खनालले अध्यक्षसँग भेट्नु नै ठूलै उपलब्धि भएको बताएका छन् । उनले नेपालसँगको भेटबारे कटाक्ष गर्दै यसैलाई आफूले ठूलो उपलब्धि ठानेको पनि उल्लेख गरेका छन् । आलोकनगर भेटमा अहिले पार्टीमा देखिएको समस्या समाधानका लागि अध्यक्ष नेपालले कुनै कुरा नगरेको पनि खनालले बताएका छन् ।
‘आलोकनगरमा गएर अध्यक्षसँग भेट्दा सामान्य गफगाफबाहेक केही पनि भएन । उहाँलाई मैले केही कुरा सोधेँ, त्यसपछि उहाँलाई लागेको कुरा लम्बेतान सुनाउनु भयो’, उनले भने, ‘उहाँले पार्टीमा देखिएको समस्या समाधानबारे कुरै गर्नु भएन। उहाँका कुरा सुनेर नै मैले ४० मिनेट बिताएँ । उहाँका कुरा एकोहोरो सुनाएर जानकपुरतिर जानु भयो ।’
अध्यक्ष नेपालले भेटमा फेरि बसेर अझै कुरा गर्ने बताएको पनि खनालले जानकारी दिए । खनालले भेटलाई नै ठूलो उपलब्धिका रुपमा व्याख्या गरे । दुईजनाबीच छलफल गर्दै, करा गर्दै, मन माझामाझ गर्दै जाने दिशामा कुरा भएको पनि खनालले बताएका छन् ।
समाजवादीमा देखिएको तीव्र विवादबीच भर्खरै तेस्रो वरीयतासहित प्रवेश गरेका वामदेव गौतम तानातानमा परेका छन् । जिम्मेवारी नदिएर समस्यामा पारेको गुनासो गरिरहेका वामदेव र झलनाथबीच शनिरबा डल्लुमा संवाद भएको छ । अध्यक्ष नेपालसँगको तानातानबीच खनालले गौतमलाई बोलाएर भेट्नुलाई अर्थपूर्ण भनिएको छ।
तपाईको प्रतिक्रिया