कारागारको घटना सामान्य बन्दै गएपछि मात्रै मुख्यमन्त्रीको सक्रियता, सुरक्षा संयन्त्रको बैठक जारी

कैलाली । कैलाली कारागारमा भएको घटनाको झन्डै ४२ घण्टा पछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुरक्षा संयन्त्रको बैठक डाकेका छन् । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको छ ।
शुक्रबार राति कैलाली कारागारमा कुटपिट हुँदा १ जानको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घाइते एक जनालाई रेफर गरिएको छ ।
घटनाको ४० घण्टा पछि मानवअधिकार आयोगको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलको निरीक्षण गरिसकेको छ । १५० कैदिबन्दी क्षमता रहेको कारागारमा ७०० बन्दी छन् । मानवअधिकार आयोगको टोलीले गणना गर्दा सबै सङ्ख्या मिलेको छ ।
प्रदेशमा ठुला घटना हुँदा पनि मुख्यमन्त्रीले चासो नदिएको आरोप लागिरहेका बेला आइतबार साँझ मुख्यमन्त्रीले सुरक्षा संयन्त्रको बैठक राखेका हुन् ।
कानून मन्त्रीसहित सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्मर विक,सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल अनुसन्धानका प्रदेश प्रमुखसहितका अधिकारीहरू छन् ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख प्रकाश भट्ट पनि बैठकमा केही बेर सहभागी थिए । उनले कारागारको अवस्थाबारे जानकारी गराएका थिए ।
धनगढीमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छ । मुख्यमन्त्रीको कार्यालय र क्वाटर पनि धनगढीमै छ। तर, घटना भएको लामो समयसम्म पनि मुख्यमन्त्रीले चासो नदिएको आरोप छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने मुख्यमन्त्रीले यस विषयमा चासो राखेको दाबी गरेको छ । ‘मुख्यमन्त्री ज्यू काठमाडौंमा हुनुहुन्थ्यो उहाँले त्यही गृहमन्त्रीलाई भेटेरै घटनाबारे जानकारी गराउँदै तत्काल कदम चल्न भन्नु भएको थियो’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने, ‘घाइतेहरूको उद्धारको लागि पनि उहाँले पहल गर्नु भएको हो ।’
तपाईको प्रतिक्रिया