सेवाग्राही लिन नआएपछि दार्चुला प्रशासनमा थन्किए ९ हजार बढी राष्ट्रिय परिचयपत्र

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

 

दार्चुला । सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलामा ९ हजार बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । गत असार मसान्त सम्म दर्ता भएर प्रशासन कार्यालयमा आएका परिचय पत्रहरु मध्ये ९ हजार २ सय ५० कार्ड सेवा ग्राहीले लिन नआए पछि जिल्ला प्रशासन कार्यालमै थन्किएको जिल्ला प्रशासन कार्यालयका राष्ट्रिय परिचय पत्र शाखाका कम्युटर अपरेटर चक्र पन्तले बताए ।

असार मसान्त सम्म विवरण संकलन गरिएका मध्य १७ हजार १ सय ८२ वडा कार्डहरु विभागबाट प्रशासन कार्यालयलाई प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताए ।

हाल सम्म तयार भएर आएका १७ हजार १ सय ८२ कार्डहरुमध्ये जिल्ला प्रशासन कार्यालय दार्चुला र वितरण अभियान मार्फत ६ हजार ४ सय ७१ वटा कार्ड वितरण गरिएको उनले बताए । राष्ट्रिय परिचयपत्र बुझ्दा बायोमेट्रिक लिनुपर्ने भएकाले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए । राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गर्ने समयमै परिचयपत्र नम्बर पाइने भएकाले धेरैजसोले परिचयपत्र नम्बरबाट काम चलाउने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अहिले परिचयपत्र बनाउनेको संख्या भने बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय बाटै पनि परिचयपत्र दर्ता गर्दा दिइएको अर्धकट्टी फाराम, नेपाली नागरिता र मोबाइलमा प्राप्त भएको म्यासेजबाट स्वयम उपस्थित भएर परिचय पत्र लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी धामीले बताए। यदी दर्ता गराउदाको अर्धकट्टी फाराम र मोबाइलमा रहेको म्यासेज नभएको खण्डमा पनि नेपाली नागरिकता बोकेर आउदा पनि परिचयपत्र लिन सक्ने उनले बताए ।

अहिले पनि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, संकलन गर्न प्रशासन कार्यालयका साथै शिविरको माध्यमबाट समेत स्थानीय तह र वडा कार्यालय सम्मै गएर राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य भइरहेको छ ।