दार्चुलामा पहिरोले पाँच परिवार विस्थापित

सोमबार भदौ २, २०८२/ Monday 08-18-25
Paschim Today

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२, राप्लामा पहिरोले दुई घरमा क्षती भएको छ। आइतबार राति वर्षासँगै खसेको पहिरोले राप्लाको गोतपानीका कालु राम कामी र मानमती कामीको घर उच्च जोखिममा परेको हो ।

दुबै परिवारको घर मुनीबाट पहिरो खसेपछि घरका भित्ताहरू चर्किएका छन् । पहिरोले विस्तापित परिवारलाई स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा सोही वडामा रहेको मिलन केन्द्रमा स्थानान्तरण गरिएको व्यास गाँउपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले बताए ।

दार्चुलामा लगातार परेको वर्षाका कारण खसेको पहिरोले घर भत्किएर पाँच परिवार विस्थापित भएका छन् । वर्षाको समयमा घर भत्किएपछि पीडितको दैनिक जीवन नै अस्तव्यस्त बनेको छ । गत बिहीबार शैल्यशिखर नगरपालिका–८, सिमखेत (मट्यौला) का तोयराज जोशीको गत वैशाखमा मात्रै बनाएको दुई तले चार कोठाको पक्की घर भत्किएको छ । 

"नयाँ घर बनाउँदा लागेको ऋण कसरी तिर्ने चिन्ता लागेको बेला घर नै भत्कियो, जोशीले दुखेसो पोखे, । भएभरको सम्पत्ती लगाएर बनाएको नयाँ घर भत्किएपछि अहिले परिवारसहित छिमेकीको घरमा बसेको छौं । यस्तै लेकम गाउँपालिका–५, मैखोली बोया बस्ने नवराज जोशीको घरमाथिबाट खसेको पहिरोले जोखिम भएपछि छिमेकी देवीदत्त जोशीको घरमा अस्थायी बास बसिरहेका छन्। परिवारका सदस्य र गाईबस्तु छिमेकीको घरमा राखेको उनले बताए । यस्तै मालिकार्जुन गाउँपालिका–७, पन्तपाली खोज्यागैरका गङ्गासिंह धामीको तीन तले ढुङ्गाको घर भत्किएको छ ।

"घर भत्किएका तथा विस्थापित भएका परिवार अहिले राहत र पुनर्निर्माणको आशामा छन्," पीडित तोयराज जोशीले भने, अब सरकार र सहयोगी हातहरूले सहयोग नगरे हाम्रो जीवन अघि बढाउन गाह्रो छ । छिट्टै राहत र सुरक्षित बासको व्यवस्था गरिदिन उनीहरूको अपिल छ ।"

दार्चुलाका कच्ची सडकहरू वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएपछि धेरै ग्रामिण सडकमा आवागमन ठप्पजस्तै भएको छ। वर्षासँगै लेदोसहितको पहिरो खस्दा आइतबार रातिदेखि बन्द रहेको महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकखण्ड सञ्चालनमा आएको छ । मालिकार्जुन गाउँपालिका–३, तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को सिमानामा पर्ने रनेबाँस क्षेत्रमा सडक सफा गरेपछि यातायातका साधनहरू सुचारु भएको तर फेरि पहिरो खस्ने जोखिम कायमै रहेको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज नरेन्द्र सिंह धामीले बताए ।

केही दिन पहिलेको अत्यधिक वर्षाका कारण व्यास गाउँपालिका–१, तिंकर खोलामा बाढी आएपछि छाङरु र टिङ्कर गाउँ जोड्ने बाटो र काठे पुल बगाएको सशस्त्र प्रहरी बल नम्बर ४४ गणका डीएसपी लिलीबहादुर चन्दले बताए । छाङरु र टिंकर जोड्ने ३(४ सय मिटर बाटो बगाउँदा तिङ्कर गाउँसित सम्बन्ध विच्छेद भएको स्थानीयले बताएका छन् । दार्चुलाका नौँ वटै स्थानीय तहका दर्जनौँ गाउँहरूमा बाढी, पहिरोको उच्च जोखिम रहेको छ ।