होटल व्यवस्थापन तालिममा ‘छापा’ भनिएको समाचारप्रति एएचटीआइको आपत्ति

आइतबार भदौ ८, २०८२/ Sunday 08-24-25
Paschim Today

धनगढी । हालै केही सञ्चारमाध्यममा एएचटीआइले दिने तालिमलाई ‘छापा’ भनेर समाचार प्रकाशित भएकोमा संस्थाले आपत्ति जनाएको छ। अतिथि सत्कार तालिम संस्था (एएचटीआइ) धनगढी, कैलालीले आफ्ना सदस्य संस्थाहरूले सञ्चालन गर्दै आएको होटल व्यवस्थापनसम्बन्धी तालिमबारे विज्ञप्ति जारी गर्दै स्पष्टता दिएको छ ।
 एएचटीआइका अनुसार २०७९ सालदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीइभीटी० सँग सहकार्य गर्दै सदस्य संस्थाहरूले नियमित रूपमा होटल व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन्। यसरी सञ्चालन हुने तालिमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर सहकार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ।

होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग दिनानुदिन बढ्दो भएकाले यस प्रकारको तालिम अझ आवश्यक रहेको एएचटीआइको भनाइ छ। संस्थाले दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरेको छ।

नेपालमा मात्र करिब ४०० भन्दा बढी संस्थाहरूसँग सहकार्य गर्दै आएको मलेसियास्थित संस्था ईटीभीए सँग पनि एएचटीआइको सहकार्य रहेको छ। एएचटीआइका अनुसार, सीटीइभीटी र ईटीभीएको सहकार्यमा सञ्चालित तालिमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको दक्षता दिलाउनेछ। यसले नेपालमा मात्र नभई विदेशमा समेत रोजगारीका अवसर बढाउनेछ।

एएचटीआइले विज्ञप्तिमार्फत विद्यार्थी, अभिभावक र सरोकारवालालाई प्रामाणिक तालिमबारे भ्रममा नपर्न अनुरोध गरेको छ।