'हरिबहादुरको जुत्ता' को टिजर सार्वजनिक

बुधबार भदौ ११, २०८२/ Wednesday 08-27-25
Paschim Today

काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म 'हरिबहादुरको जुत्ता' को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्छ। हाँसो, आँसु र करूणासहितको भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ।

टिजर हरिवंश आचार्य वरिपरि घुमेको छ। सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर पात्र, जसले अरूलाई मात्रै रुवाउँथ्यो, फिल्ममा आइपुग्दा भने आफू पनि रोएको टिजरमा देख्न सकिन्छ।  निर्देशक दीपेन्द्र के. खनालले यस पटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारूणिक पात्रका रूपमा पनि देखाउन खोजेको टिजरले संकेत गर्छ। 

यो फिल्ममा हरिवंशसहित थुप्रै चर्चित कलाकारहरूको अभिनय छ। प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाललगायत कलाकारहरूले यसमा अभिनय गरेका छन्। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।

कृष्ण बहादुर थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्काको छ।  'हरिबहादुरको जुत्ता' असोज १३ गते दसैंको फूलपातीदेखि प्रदर्शनमा आउनेछ।