रौतहटकी रूबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

बुधबार भदौ ११, २०८२/ Wednesday 08-27-25
Paschim Today

काठमाडौं । रौतहटमा २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। रौतहट प्रहरीले आरोपी पासवानलाई बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएको थियो।  उपचारका क्रममा बुधबार अपराह्न पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले सेतोपाटीलाई जानकारी दिए।

रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनाका आरोपी पासवान जलेको अवस्थामा फेला परेका थिए। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए।

पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो। उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए। 'मैले नै हत्या गरेको हुँ भनेका छन्,’ रौतहट प्रहरीले भनेको थियो। शरीरका विभिन्न भाग जले पनि पासवान बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए। 

गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो।