प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौता

धनगढी । सुदूरपश्चिम प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौता भएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) डम्बरबहादुर बिक र मातहतका कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौता भएको हो।
डिआइजी बिक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, सुदूरपश्चिम प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय धनगढीका प्रमुखबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल, जिल्ला प्रहरी कार्यालय डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराका प्रमुखहरुसंग भर्चुअल उपस्थितिमा चालु आर्थिक वर्षको लागि ‘वार्षिक कार्य सम्पदान सम्झौता’ भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रहरी कार्यालयका प्रमुखहरूले उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्नका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत जनाए।
सो कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बिकले भौतिक तथा भर्चुअल माध्यमद्वारा उपस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै कार्यसम्पादन सम्झौता नेपाल प्रहरीको काम कारबाहीको मेरुदण्ड रहेको बताए।उनले प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए।
तपाईको प्रतिक्रिया