१० वर्षअघि प्रेम विवाह भएको थियो, सामान्य विवादमै गरे श्रीमतीको हत्या

मंगलबार भदौ १७, २०८२/ Tuesday 09-02-25
Paschim Today

बुटवल : अर्घाखाँचीमा श्रीमतीको हत्या गर्ने एक युवक पक्राउ परेका छन्। छत्रदेव गाउँपालिका-४ पातलेका किरण गुरुङलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार किरणले ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरी घरको भान्सा कोठामा खाडल खनेर शव गाडेका थिए। प्युठान स्थायी ठेगाना भएका उनीहरू विगत ८ वर्षदेखि छत्रदेव गाउँपालिकामा बस्दै आएका थिए।

सुमित्रा ४-५ दिनसम्म सम्पर्कमा नआएपछि माइती पक्षले असोज १६ गते प्रहरी चौकी बल्कोटमा मौखिक जानकारी दिएका थिए। त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले शव भान्सा कोठामै गाडिएको अवस्थामा फेला पारेको हो।

अनुसन्धानअनुसार भदौ १२ गते सामान्य विवाद हुँदा किरणले बाँसको लाठि र हँसियाको पछाडिको भागले प्रहार गरी पत्नीको हत्या गरेका थिए। शवलाई कम्बलमा बेरी घरकै भान्सा कोठामा खाडल खनेर गाडेको प्रहरीले जनाएको छ।

प्रहरीले शव उत्खनन गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको छ। किरणलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

किरण र सुमित्राले १० वर्षअघि प्रेम सम्बन्धपछि दोस्रो विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूका ९ वर्षीया छोरी छिन्। किरणको पूर्वश्रीमतीबाट दुई छोरी र सुमित्राको पूर्वश्रीमानबाट तीन छोरा रहेका छन्।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका बाँसको लाठि, हँसिया, गैँची, बेल्चा, सानो कोदालो र रक्सीको बोतल बरामद गरेको छ।