ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार ढालियो : प्रचण्ड

शनिबार भदौ २१, २०८२/ Saturday 09-06-25
Paschim Today

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन सरकार ‘दलाल पुँजीवाद र बिचौलियावाद’को धाकधम्कीले बनेको बताएका छन् । शनिबार (भदौ २१) पोखरामा आयोजित एक कार्यक्रममा उनले सरकारबारे कडा टिप्पणी गरे ।

“कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,” उनले भने, “हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।”

नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको उनले बताए ।

माओवादी आन्दोलन मध्यमवर्गको पक्षमा खटिएको उनले उल्लेख गरे । “हामी मध्यमवर्गकै प्रतिनिधि हौँ,” उनले भने, “ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।”

प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए । उनले भने, “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौँ, तर सरकार ढालियो । त्यसैले त्यो काम अघि बढ्न सकेन ।”

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको उनले स्वीकार गरे । उनले भने, “उही नियम, उही परम्परा चलिरहेको छ । परिवर्तनको लडाइँ अझै बाँकी छ ।”

पछिल्लो समयमा माओवादी र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको उनले बताए । “नपत्याउने गरी जनमत बढिरहेको छ । नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौँ । जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो,” उनले भने ।