जले सुदूरपश्चिमका प्रमुख सरकारी कार्यालय

मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

 मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जेनमीका युवाहरू नाराबाजी गर्दै सुदूरपश्चिम प्रदेश सभा भवन अगाडि भेला भएका थिए । त्यहाँ प्रदर्शन सकेर उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि पुगे । जिल्ला प्रशासन कार्यालय अगाडि पुुग्दा सम्म जेनजी युवाको आन्दोलन शान्तिपूर्ण नै थियो ।

प्रशासन कार्यालयमा समेत जेनजीको प्रदर्शनमा सहभागी हुुन विभिन्न ठाउँमा निस्किएका जुलुस मिसिने क्रम जारी नै थियो । जिल्ला प्रशासन कार्यालय अगाडि राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरूले आन्दोलनको अगुवाई गर्न खोजेपछि ‘झोलेहरू गो ब्याक’ भन्दै नाराबाजी गरिएको थियो ।

त्यसपछि अघि बढेको जेनजी आन्दोलन फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ मोडियो । आन्दोलनमा प्रवेश गरेको एक समूहका युवाहरू करीब साढे ११ बजेतिर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्र प्रवेश गरेर ढुंगामुढा प्रहार गर्दै तोडफोडमा उत्रिएपछि प्रदर्शनले उग्र मोड लिएको थियो ।

प्रहरीले सम्झाइबुझाई गरेर उनीहरूलाई बाहिर पठाएपनि ढुंगामुढा प्रहार गर्ने क्रम नरोकिएपछि प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो । प्रहरी मुख्यमन्त्री कार्यालयको भीड व्यवस्थापन गरिरहँदा एउटा समूह आगजनी गर्ने भन्दै धनगढी उपमहानगरपालिका–४ स्थित परराष्ट्र मन्त्री आरजू राणा देउवाको निवासतर्फ लागेको थियो ।

प्रदर्शनकारीले पहिलो निसाना राणाकै घरलाई बनायो र त्यहाँबाट आगजनी सुरू गरिएको थियो । आगो नियन्त्रणमा लिन धनगढी उपमहानगरपालिकाले दमकल पठाएपनि प्रदर्शनकारीले अघि बढ्न नदिएपछि आगो बलिरह्यो ।

त्यहाँ आगो लगाएर फर्किएको समूहले त्यसपछि एमाले कैलाली पार्टी कार्यालयमा आगो लगायो । यति बेला दिउँसोको १२ बजेको थियो । जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारी भेला भएको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिसकेको थियो ।

निषेधाज्ञाकै आदेशबीच एमाले पार्टी कार्यालयमा आगो लगाएका प्रदर्शनकारी कांग्रेसको पार्टी कार्यालयमा आगजनी गर्ने भन्दै निस्किएका थिए । तर उनीहरूले सुरूमा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई निसाना बनाए । त्यहाँ एउटा गाडी र मोटरसाइकलसहित आगो लगाइसकेपछि नेपाली कांग्रेसको पार्टी कार्यालय जलाएका थिए ।

त्यसपछि उनीहरूले माओवादी केन्द्रको पार्टी कार्यालयमा आगो लगाए । उग्र बनेको समूहले त्यसपछि धनगढी–४ मा रहेको टेम्पल रिसोर्टमा सरकारी कार्यक्रम रहेको थाहा पाएपछि त्यही प्रवेश गरेर आधा दर्जन गाडीमा आगो हालिदिए ।

नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयको मूल गेट फुटाएर त्यहाँ आगजनी गरेका छन् भने दुई वटा गाडी समेत जलाइएको छ । प्रदर्शनकारीले यी सबै गतिविधि सुरक्षाकर्मीकै सामू गरिरहेपनि उनीहरूलाई नियन्त्रणमा लिन सक्ने अवस्था नै थिएन ।

सरकारी कार्यालय निसाना बनाएका प्रदर्शनकारीले क्रमश: प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, सीटीईभीटीको प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका दर्जन बढि सरकारी कार्यालय छानीछानी आगो लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले अधिकांश सरकारी कार्यालयमा आगजनी भएको, सवारीसाधन तोडफोड गरिएको भएपनि यकिन विवरण प्राप्त गर्न नसकिएको बताए । उनका भनाईमा अहिले बाँकी रहेका संरचनाको सुरक्षा कसरी गर्ने ? भन्नेतिर केन्द्रीत भएकाले विवरण संकलन गर्न नसकिएको हो ।

तर स्वास्थ्यसँग सम्बन्धीत बाहेकका अधिकांश कार्यालयमा प्रदर्शनकारीले आगजनी गरिदिएका छन् । आन्दोलनकारीले नख्खुु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई निकालेपछि प्रदर्शनकारी कैलाली कारागार केन्द्रीत भए ।

जिल्ला प्रशासन कार्यालयको भवनमा आगो लगाइसकेपछि उनीहरू कैलाली कारागार प्रवेश गरे । करीब पौने ६ बजेको समयमा उनीहरूले त्यहाँ रहेका करीब सात सय जना कैदीबन्दीलाई बाहिर निकालेर आफूसँगै आन्दोलनमा सहभागी गराएका छन् । यो बाहेक प्रदर्शनकारीले धनगढीको भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।