कैलाली कारागारबाट भागेका छ जना टिकापुरबाट पक्राउ, अन्य कैदी पनि सम्पर्कमा आउँदै

बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

रञ्जना बिसी कैलाली ।

भदौ २४ गते धनगढीमा भएको जेनजी आन्दोलन पछि कारागारबाट भागेका कैदी सम्पर्कमा आउन थालेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापरले कारागारबाट भागेका छ जना कैदीलाई पक्राउ गरेको छ । प्रहरी का अनुसार अन्य फरार भएका कैदी पनि पक्राउ पर्ने क्रम जारी छ ।

जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाका अनुसार झन्डै ३० जना आफै सम्पर्क गरेर कारागार प्रशासनको सम्पर्कमा आएका हुन्। जेलर सापकोटाका अनुसार कतिपय कैदीका आमाबुवाले सम्पर्क गरेर उनीहरुलाई कारागार बुझाउने बताएका छन् भने कतिपय कैदीहरू आफै सम्पर्क गरेर कारागार फर्किने बताएका हुन ।

आज कारागार प्रशासनले फरार भएका कैदीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने बताएको छ। सोही सूचना अनुसार सम्पर्कमा नआएका कैदीहरलाई फरार सूचीमा राखेर प्रहरीले खोजी गर्ने कारागारले जनाएको छ। जेलर सापकोटा भन्छन् 'हामी सूचना जारी गर्दैछौँ । सूचनाका अनुसार फरार भएका कैदीहरू सम्पर्कमा आउनेछन् भन्ने हामीले विश्वास गरेका छौं । यदि सूचनापछि पनि कैदीहरू सम्पर्कमा आएनन् भने फरार सूचीमा राखेर प्रहरीले उनीहरुलाई पक्राउ गर्नेछ ।'

कैलाली कारागारमा नेपाली मात्र नभएर भारतीय नागरिकहरू पनि छन् । नाकाहरूमा कडाइ गरेर नेपालीलाई भारत छिर्न नदिए पनि भारतीय नागरिकहरूलाई नागरिकताका आधारमा प्रवेश दिन थालिएको छ । यसले भारतीय कैदीहरू भारत प्रवेश गर्न सक्ने चिन्तासमेत कारागारले व्यक्त गरेको छ।

जेन्जी आन्दोलनका आन्दोलनकारीहरूले कारागारमा प्रवेश गरेपछि प्रशासनले कैदीहरूलाई छोडिदिएको थियो । त्यो दिन कारागारमा रहेका ६ सय १८ जना कैदी नै भागेका थिए।