जेनजीबाटै प्रधानमन्त्री बनाउन रेशम चौधरीको सुझाव

बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

कैलाली । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले जेनजीबाटै प्रधानमन्त्री बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जेनजीहरु पनि राष्ट्र हाक्न सक्षम रहेको भन्दै प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् ।

‘ तपाईँहरू देश हाँक्न सक्षम हुनुहुन्छ । आफै नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस् ’ उनले लेखेका छन् ‘ जेनजीहरु मध्ये एकजना प्रधानमन्त्री भइहाल्नुस् । त्यसलाई संवैधानिक कसरी बनाउने काम राष्ट्रपतिको हो । ’

आन्दोलनले गरेको परिवर्तन प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन् । विगतका कर्मचारीलाई ल्याएर, पालिका प्रमुखहरूसँग हार गुहार गरेर लक्ष्य प्राप्तिबारे चौधरीले संशय व्यक्त गरेका छन् ।

‘ तपाईँले तोकेका निहित विषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्नुहोस् । धेरै नेताले बुँदात्मक सुझाव दिइराखेका छन्,ती बुँदा आफूले हिजो किन लागू नगरेका ’ उनले प्रश्न गरेका छन् ।

अहिले सुझाव दिन पुराना नेताहरूलाई नैतिक अधिकार नरहेको समेत उनले बताएका छन् ।

रेशम चौधरीको घरमा पनि मङ्गलवार आगजनी गरिएको थियो । उनले त्यो भन्दा ठुलो विषय राष्ट्रवाद रहेको बताएका छन् ।

‘घर मेरो पनि जल्यो,घर जलेको बात पछि होला,पहिला राष्ट्रघातक नहोस् ’ उनले भनेका छन् ।