यातायात बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

काठमाडौं । परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ ।
अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ । जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ ।
नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन । उक्त नाका जोड्ने सडक समेत अझै सुचारु भइसकेको छैन । तातोपानी नाकामा समेत सडक सहज छैन । भारततर्फको व्यापारका लागि यातायात खुलेको छैन ।
उता, राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै प्रकारका मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहेको यसअघि नै बताइसकेको छ ।
भदौ अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना हो । दशैं र तिहारका लागि लक्षित गरी बढी सामान यसै महिना आउने गर्छन् ।
तपाईको प्रतिक्रिया