अर्थमन्त्री खनालसँग नाडाका पदाधिकारीकाे भेट, देशको वर्तमान आर्थिक अवस्थाबारे छलफल

बुधबार असोज १, २०८२/ Wednesday 09-17-25
Paschim Today

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वकाे टाेलीले नेपालको वर्तमान जटिल आर्थिक अवस्था र अटोमोबाइल व्यवसायमा देखिएका समस्याहरूबारे छलफल गरेकाे छ ।

भेटघाटको क्रममा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षा र देशको शान्तिलाई सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताए । उनले देशको अर्थतन्त्र खस्कँदै गएको र लगानीकर्ताहरूमा विश्वासको कमी आएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल बढाउन सरकारले ठोस कदम चाल्नुपर्ने धारणा राखे ।

छलफलका क्रममा अध्यक्ष चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढने भन्दै नेपालको अटोमोवाइल क्षेत्रले भन्सार राजश्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको बताए ।

सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।

साथै अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लाेन प्रवाह गर्ने प्रकियामा लाेन टु भ्यालु रेसियाेमा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्‍याउनु पर्ने सुझाव समेत दिए ।

सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक विगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिँदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए । त्यसैगरी नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने बताए ।

भेटमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र डयामेजको तथ्याङ्क संकलनगरी समुचित कदम चालिने बताए । उनले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै टेक्स मा के-के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए ।

सोही छलफलको क्रममा मन्त्री खनालले आन्दोलनले अटोमोवाइल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको बताउँदै आफू व्यवसायीहरुको सिधा सम्पर्क रहने उल्लेख गरे ।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति रहेको थियो ।