जेनजीलाई सम्झँदै राष्ट्रपतिले भने- म पनि १७ वर्षमा राजनीतिमा होमिएको थिएँ

शुक्रबार असोज ३, २०८२/ Friday 09-19-25
Paschim Today

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनकारीहरूलाई सम्झँदै आफू पनि १७ वर्षमा राजनीतिमा होमिएको स्मरण गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताए ।

‘हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने दृढ विश्वास छ,’ उनले भने, ‘म पनि १७ वर्षको उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ ।’

उनले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै अहिलेको अप्ठ्यारो स्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

‘परिस्थितिले मलाई भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ’ उनले भने, ‘सबैको सुझबुझ समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौं ।’

उनले लोकतन्त्रको र संविधानको भावना अनुरूप काम गर्न सबैलाई आग्रह गरे ।

चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेनजी प्रतिनिधिहरू पनि सहभागी छन् ।