भिजिबिलिटी घटेपछि सात अन्तर्राष्ट्रिय बिमान डाईभर्ट, आन्तरिक हवाई सेवा बन्द

शनिबार असोज १८, २०८२/ Saturday 10-04-25
Paschim Today

ठमाडौँ, १८ असोज । वर्षाका कारण भिजिबिलिटि (दृश्यता) घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर सातवटा अन्तर्राष्ट्रिय जेट विमान डाईभर्ट भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य बिभिन्न देशबाट उडेका जहाजहरुले अवतरण गर्न नसकेर काठमाण्डौंको आकाशबाट फिर्ता भएर बिभिन्न देशमा आपतकालीन अवतरण गरेका छन् ।

प्रस्थान उडानहरू भईरहदा अन्यत्रबाट आउने बिमान अवतरणमा भने समस्या उत्पन्न भएको हो ।

दिल्लीबाट काठमाडौं आउँदै गरेका एयर इन्डिया र इन्डिगोका दुई उडान पुनः दिल्ली फर्किएका छन्। आबुधाबीबाट उडेको एयर अरेबियाको विमान बाणारसीतर्फ मोडिएको छ।

दिउँसो करिब २ बजेतिर मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको विमान लखनउ तर्फ मोडिएको छ ।

ईन्डिगोले दुई पटक अवतरणको प्रयास गरेपनि सफल हुन सकेन ।

कुनमिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको विमान ढाका, थाइल्याण्डबाट आएको थाइ एयर एशियाको उडान लखनउ, र जापानको नारिताबाट आएको नेपाल वायुसेवा निगमको जहाज दिल्लीतर्फ डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यतिबेला कतार एयरवेजका दुई वटा विमान गोरखपुरको आकाशमा होल्डमा छन् । तीन वटा जहाज फर्किएका छन् ।

त्यस्तै खराव मौसमका कारण आज दिनभरी आन्तरिक उडानहरु भने स्थगित भए ।