असोज ३० गते राजनीतिक दलसँग छलफल गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा निर्वाचनका विषयमा राजनीतिक दलसँग परामर्शको तयारी गरेको छ । यही असोज ३० गते छलफलका निम्ति दलहरूलाई बोलाउन लागिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
“असोज ३० गते दलहरूसँग परामर्श गर्छौं । त्यसका लागि आजै पत्र काट्ने तयारी भइरहेको छ,” उनले भने, “निर्वाचन कार्यतालिकासहित समग्रम विषयमा छलफल हुनेछ ।”
दलले तोकेका सम्पर्क व्यक्तिसँगको परामर्शमा नै बैठक बोलाउन लागिएको उनले बताए । “दलका तर्फबाट सम्पर्क व्यक्तिहरूको नाम दिनुभएको छ । उहाँसँग सल्लाह गरेर बैठक बोलाउन लागिएको हो,” उनले भने ।
बैठक बिहान ११:३० बजेका निम्ति बोलाउने तयारी छ । “आयोगमा दर्ता भएका सबै दललाई त पत्र काट्ने तयारी छैन, तर निर्वाचनका लागि दर्ता भएर एउटा वडाको वडा सदस्य जितेका दललाई समेत छलफलमा सामेल गराउँछौँ,” उनले भने ।
निर्वाचनका निम्ति आयोगले सोमबार (असोज २०) कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक भइसक्दा पनि छलफल नगरिएकामा राजनीतिक दलका नेताले असन्तुष्टि प्रकट गरिरहेका छन् ।
“हप्ताको एकपटक वा महिनको दुईपटक निर्वाचनको विषयमा छलफल गर्छौं,” भण्डारीले भने ।
मंगलबार (असोज २१) प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा सुरक्षा निकायसहित आयोगका पदाधिकारीसँग छलफल गर्दै छिन् ।
तपाईको प्रतिक्रिया