कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको विजयी लक्ष्य दिएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको हो।
नेपालको लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ५६ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। उनले टी-२० अन्तर्राष्ट्रियमा १२ औं अर्धशतक प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गुमाएको हो। उनले ७ बलमा २ रन बनाउँदै एलबीडब्ल्यू आउट भए। २.३ ओभरमा आसिफ सस्तैमा पेभेलियन फर्किएका हुन्।
दोस्रो विकेटको रुपमा कप्तान रोहित पौडेलको विकेट गयो । उनले १५ बलमा १६ रन बनाउँदै बोल्ड भए। ७.२ ओभरमा ४६ रन बनाउँदा नेपालले दोस्रो विकेट गुमाएको हो।
तेस्रो विकेटको रुपमा चौथो क्रममा आएका कुशल मल्ल पेभेलियन फर्किए। ९.५ ओभरमा नेपालले तेस्रो विकेट गुमायो। कुशलले १० बलमा ४ रन बनाउँदै बोल्ड भए।
११.४ ओभरमा चौथो विकेटको रुपमा सन्दीप जोरा ६ बलमा ५ रन बनाउँदै स्टम्पिङ हुँदै पेभेलियन फर्किए। दिपेन्द्र सिंह ऐरीले १९ बलमा १ छक्कासहित २० रन बनाउँदै रनआउट भए। १६.५ ओभरमा नेपालले ४ विकेट गुमाउँदै १०० रन पूरा गर्यो।
१९ औं ओभरको अन्तिम ३ खेलमा गुल्सन झाले ५ बलमा २० रन बनाउँदै गुल्सन झाले नेपाललाई खेलमा फर्काए। रन रेटमा पछाडी परेको अवस्थामा गुल्सनले राम्रो कमब्याक गराएका थिए। गुल्सनले ६ बलमा २० रन बनाउँदै छैटौं विकेटको रुपमा पेभेलियन फर्किए।
सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे। कुवेतको लागि नवीनराज राजेन्द्रन र अनुदिप चन्दामाराले समान २–२ विकेट लिए। मोहम्मद अकिफ फारुक र मोहमद अस्लमले १–१ विकेट लिए।
तपाईको प्रतिक्रिया