ट्रम्पले गरे घोषणा, इजरायल र हमासबीच गाजाको शान्ति सम्झौताको पहिलो चरण सम्पन्न

अक्टोबर ८, २०२५ | वाशिङ्टन / गाजा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इजरायल र हमासबीच गाजामा शान्ति योजनाको पहिलो चरणको सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। ट्रम्पका अनुसार उक्त सम्झौता अन्तर्गत गाजामा रहेका सबै बन्धकहरूलाई शीघ्र मुक्त गर्ने तयारी सुरु भएको छ।
ट्रम्पले अमेरिकाबाट जारी गरेको विज्ञप्तिमा भनेका छन्, “इजरायल र हमासले अब शान्ति र स्थायित्वको दिशामा पहिलो महत्वपूर्ण कदम चालेका छन्। यो सम्झौता मध्यपूर्वमा दीर्घकालीन स्थायित्वको सुरुवात हुनेछ।”
तर, ट्रम्पको घोषणामा केही संवेदनशील विषयहरू अझै टुंगोमा नपुगेको उल्लेख गरिएको छ। तीमध्ये हमासको निरस्त्रीकरण र गाजाको भविष्य शासन प्रणाली जस्ता मुद्दा आगामी चरणका वार्तामा छलफल हुने बताइएको छ।
इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सम्झौताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनले यो सम्झौता “कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय” भएको बताएका छन्। त्यस्तै, हमासले पनि विज्ञप्ति जारी गर्दै सम्झौतामा “गाजामाथिको युद्धको अन्त्य, इजरायली कब्जाको समाप्ति, मानवीय सहायता प्रवेश र कैदी साटासाट” का प्रावधानहरू रहेको जनाएको छ।
यो घोषणा ठीक दुई वर्षअघि अर्थात् सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अप्रत्याशित आक्रमणको वार्षिकीको अवसरमा आएको हो। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए र २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो। त्यसपछि इजरायलले गरेको प्रतिआक्रमणमा अहिलेसम्म करिब ६७,००० मानिसको मृत्यु भइसकेको बताइन्छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।
गाजामा जारी यो युद्धले क्षेत्रीय स्थायित्वमा गम्भीर असर पारेको भन्दै अमेरिका, मिस्र, कतार र अन्य देशहरूले मध्यस्थता गर्दै आएका थिए। अब पहिलो चरणको सहमति भएकोले आगामी हप्ताहरूमा दोस्रो चरणको वार्ता सुरु हुने अपेक्षा गरिएको छ।
सीएननबाट ।
तपाईको प्रतिक्रिया