धनगढीमा एनसेलको नयाँ सेन्टर सञ्चालनमा : अब सबै सेवा एकै ठाउँमा उपलब्ध

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26
Paschim Today

यशोदा शर्मा, 

धनगढी।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कैलालीको धनगढीमा नेपालमै पहिलोपटक 'फोफो' अवधारणाका साथ नयाँ 'एनसेल सेन्टर' सञ्चालनमा ल्याएको छ। फ्रान्चाइज ओन्ड, फ्रान्चाइज-अपरेटेड (फोफो) स्टोरको अवधारणा अनुसार स्थानीय व्यवसायीसँगको सहकार्यमा यो सेन्टर सञ्चालनमा ल्याइएको हो।

बुधबार आयोजित एक विशेष समारोहका बीच एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का र कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहाल लगायत अन्य अतिथिहरूले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरेका हुन्। एनसेल फ्रान्चाइज सेन्टरको नाममा समेत चिनिने यस सेन्टरले ग्राहकहरूलाई थप सहज, विश्वसनिय र प्रिमियम अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

'लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल' थिममा सञ्चालनमा ल्याइएको यस सेन्टरबाट ग्राहकले एनसेलका सम्पूर्ण ग्राहक सेवाहरू एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। यहाँबाट सिम कार्ड परिवर्तन, ई-सिम (e-SIM) एक्टिभेशन, केवाईसी (KYC) अपडेट, बिल भुक्तानी, मोबाइल फोन लगायत विभिन्न एसेसरिजहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले भनिन्, "एनसेलको पहिलो 'फोफो' स्टोरको उद्घाटनले देशभर सेवा पहुँच विस्तार गर्ने, स्थानीय साझेदारहरूसँगको सम्बन्ध सुदृढ गर्ने र ग्राहक अनुभवलाई नयाँ उचाइ दिने कम्पनीको दृढ प्रतिबद्धतालाई झल्काउँछ। हामी धनगढीका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न पाउँदा अत्यन्त खुसी छौँ।"

त्यस्तै, एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले कम्पनीका पछिल्लो समयका कामहरूले नेपाली बजारप्रति एनसेलको प्रतिबद्धता झल्काएको बताइन्। "नयाँ अवधारणासहित सञ्चालनमा आएको यो सेन्टर ग्राहकलाई थप सहजता र सुविधा प्रदान गर्ने एक महत्त्वपूर्ण कदम हो। उनले भनिन्, स्थानीय स्तरका व्यवसायीसँग मिलेर हामीले ग्राहकहरूलाई नजिकबाट सेवा दिने लक्ष्य राखेका छौँ।"

स्थानीय व्यवसायी र उनीहरूसँगको साझेदारीलाई प्रोत्साहन दिँदै भविष्यमा पनि यस्ता स्टोरहरू देशका अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने कम्पनीको योजना छ। पछिल्लो समय आफ्ना मोबाइल एप-केन्द्रित योजनाहरूबारे ग्राहकलाई थप जानकारी दिन र कम्पनी तथा ग्राहकबीचको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता नजिकका स्टोरहरूले मद्दत पुर्‍याउने एनसेलले विश्वास लिएको छ।