बर्दगोरिया गाउँपालिकाका अध्यक्षले उपाध्यक्षलाई नदिइकन वडा अध्यक्षलाई दिए कार्यवाहक

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26
Paschim Today

धनगढी : बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले आफू कार्यालय बाहिर रहने भन्दै वडा नं. १ का अध्यक्ष मिथुन गौतमलाई कार्यवाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी तोकेको पत्र सार्वजनिक भएपछि गाउँपालिकामा विवाद उत्पन्न भएको छ।

गाउँपालिकाले २०८३ साउन २१ गते जारी गरेको पत्रमा अध्यक्ष कुँवरले साउन २२ गतेदेखि आफू कार्यालय बाहिर रहने जनाउँदै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम वडा अध्यक्ष मिथुन गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन्।

तर उक्त निर्णयप्रति गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले कडा असन्तुष्टि जनाएका छन्। उपाध्यक्ष गिरीले आफू निर्वाचित उपाध्यक्ष हुँदाहुँदै कार्यालयमै उपस्थित रहेको अवस्थामा आफूलाई जिम्मेवारी नदिई वडा अध्यक्षलाई कार्यवाहक अध्यक्ष बनाइनु कानुन र अभ्यास विपरीत भएको दाबी गरेका छन्।

उपाध्यक्ष गिरीले अध्यक्ष कुँवरले आफूलाई सुरुदेखि नै विभेदपूर्ण व्यवहार गर्दै आएको आरोप लगाएका छन् । उनले गाउँपालिकाका महत्वपूर्ण निर्णयमा आफूलाई सहभागी नगराइने, कार्यपालिका बैठकमा समेत बेवास्ता गरिने अवस्था रहेको बताए। यही कारणले पछिल्लो समय कार्यपालिका बैठकमा आफू सहभागी हुन छाडेको उनको भनाइ छ।

त्यसैगरी न्यायिक समितिलाई आवश्यक बजेट उपलब्ध नगराइएको, समितिका काममा अवरोध सिर्जना गरिएको, पटक–पटक अपशब्द प्रयोग गर्ने तथा सार्वजनिक रूपमा गालीगलौज गर्ने गरेको आरोप पनि अध्यक्षमाथि उपाध्यक्ष गिरीले लगाएका छन् । यस विषयमा आफ्नो गम्भीर असन्तुष्टि रहेको बताए।

यता गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने उपाध्यक्ष गिरी विगतमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भए पनि हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको उल्लेख गर्दै सोही विषयमा सम्बन्धित दलले स्पष्टीकरण सोधिसकेको बताए। केही दिनमै उनको पद जाने सम्भावना देखिएकाले प्रशासनिक काम प्रभावित नहोस् भन्ने उद्देश्यले वडा अध्यक्ष मिथुन गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष कुँवरको भनाइ छ।

कार्यवाहक अध्यक्ष तोक्ने निर्णय, त्यसको कानुनी वैधता तथा उपाध्यक्षको भूमिकाबारे स्थानीय तहमा बहस सुरु भएको छ।