शैलेश्वरी फारवेष्ट कलेजको स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26
Paschim Today

पश्चिम टुडे, धनगढी २२ साउन । धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स कलेजले शुक्रबार (आज) नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा तेस्रो वर्षका विद्यार्थीहरुलाई विदाई गरेको छ।


 धनगढीस्थित ऋद्धि सिद्धि पार्टि प्यालेसमा आयोजित समारोहमा कलेजका संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी सूर्य प्रसाद श्रेष्ठ प्रमुख अतिथि थिए। सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा प्राबिधिक शिक्षाको विकासमा शैलेश्वरी कलेजले महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा थप कार्यक्रम ल्याउन प्रयास भैरहेको पनि बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी एन जोशीले सुदूरपश्चिममा प्राबिधिक शिक्षाको विकासप्रति खुशी व्यक्त गर्दै शैलेश्वरी कलेजले झन्डै दुइ दशकदेखि गुणस्तरीय शिक्षा र संस्कार प्रदान गरिरहेको बताए। उनले क्याम्पस प्रमुख विमला पौडेल स्वारको कुशल नेतृत्वमा कलेजले उत्कृष्ट नतिजा दिन सफल भएकोमा धन्यबाद समेत प्रकट गरे। उनले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासन र अध्ययनमा जोड दिन पनि आग्रह गरे।
समारोहमा बोल्दै क्याम्पस प्रमुख विमला पौडेल स्वारले शैलेश्वरी कलेजले दक्ष जनशक्तिका साथ गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताईन्। उनले विगतमा नर्सिङ शिक्षा पनि अध्यापन भैरहेकोमा सरकारको नयाँ प्राबधान अनुसार हाल बन्द गर्नु परेको बताउंदै आगामी वर्ष नर्सिङ संकाय पनि ल्याउन व्यबस्थापन टीम लागिरहेको बताइन्। क्याम्पस प्रमुख पौडेलले विद्यार्थीहरूलाई अनुशासित र सभ्य बन्न समेत आग्रह गरिन्।


 विदाइ तथा स्वागत समारोहमा कलेजका प्रबन्ध निर्देशक दीपराज चटौत, भागेश्वर एकेडेमीका क्याम्पस प्रमुख नेत्रप्रसाद उपाध्याय, नवजीवन नर्सिङ कलेजकी प्रिन्सिपल टिकेश्वरी शाह, शैलेश्वरी कलेजकी कोर्डिनेटर निरू सिंह,उप प्राध्यापक मनोज ओझा लगायतले शुभकामना प्रकट गरेका थिए।
समारोहमा कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ,एमडी दीपराज चटौत  र क्याम्पस प्रमुख विमला पौडेलले विद्यार्थीहरूलाई टिका, माला र उपहार सहित सम्मान गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक सांस्कृतिक प्रस्तुति समेत राखेका थिए। शैलेश्वरी फारवेष्ट कलेजमा हाल एच.ए, फार्मेसी र ल्याब संकायको अध्यापन भैरहेको छ।