देशभर खाना पकाउने एलपी ग्यास अभाव

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26
Paschim Today

काठमाडौं — राजधानी काठमाडाैंसहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ ।मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिन्डर र पैसा बुझाएपछि पनि एक सातादेखि १० दिनसम्म प्रतीक्षा गर्नुपरेको छ ।  

ग्यास अभावले घरपरिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न बाध्य भएका छन् । ग्यास अभावले होटल व्यवसाय र डे‍रामा बस्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । 

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा बाबुराजा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सन्तोष बस्नेतले जिल्लाका कुनै डिलरमा नपाएर जाजरकोटबाट ७.१ किलोको आधा सिलिन्डर २ हजार रुपैयाँमा किन्नुपरेको बताए । शारदा–८ सिमखर्कका वीरबहादुर बोहराले दुल्धरापोखरास्थित ग्यास पसलमा खाली सिलिन्डर र पैसा बुझाएको एक साताभन्दा बढी भइसक्यो । उनी दैनिक पसलमा पुगेर वा फोन गरेर ग्यास आउने मिति सोधिरहेका छन् । तर अझै भरिएको सिलिन्डर पाएका छैनन् । यस्तै समस्या जिल्लाभरि देखिएको छ । १४.२ किलोको सिलिन्डरका लागि उपभोक्ताले सातादेखि १० दिनसम्म कुर्नुपरेको छ ।

लगातार घट्दो आपूर्ति, बढ्दो माग र ढुवानी व्यवस्थापन समस्याका कारण पहाडी जिल्लामा ग्यास अभाव दोहोरिन थालेको व्यवसायीहरूको भनाइ छ । उपभोक्ताले भने नियमित आपूर्ति सुनिश्चित गर्न सरकार र सम्बन्धित कम्पनीहरूले तत्काल प्रभावकारी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।