डिजिटल माध्यमबाट मानव बेचबिखनको जोखिम बढ्दो, सुदूरपश्चिम उच्च जोखिममा
धनगढी । डिजिटल माध्यमबाट मानव बेचबिखनको जोखिम बढीरहेको छ । जसबाट सुदूरपश्चिम उच्च जोखिममा रहेको सरोकारवाला निकायले जनाएका छन् । मानव बेचबिखन परम्परागत यौन शोषणमा मात्र सीमित नरही डिजिटल माध्यम, श्रम शोषण, जबर्जस्ती विवाह र अवैध अङ्ग दानसम्म फैलिँदै गएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले बिहीबार धनगढीमा मानव बेचबिखनविरुद्धको अधिकार सम्बन्धी राष्ट्रिय प्रतिवेदन (२०८२) माथिको छलफलमा भएको थियो । प्रतिवेदन अनुसार खुला सीमा, गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीको प्रलोभन तथा सामाजिक सञ्जालको दुरुपयोग मानव बेचबिखनका प्रमुख कारण बनेका छन्।
प्रतिवेदनमा सुदूरपश्चिम मानव बेचबिखनबाट बढी प्रभावित प्रदेशमध्ये एक रहेको उल्लेख छ। पछिल्ला तीन आर्थिक वर्षमा देशभर ३७३ जना पीडित पहिचान भएका छन्। तीमध्ये २८२ जना महिला, ४७ जना पुरुष, ३७ जना बालिका र ७ जना बालक रहेका छन्।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानव तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायबीच निरन्तर समन्वय र छलफल भइरहेको छ बताए । स्थानीय तहलाई यसबारे बढी जिम्मेवार रहेको बताउँदै उनले पालिकामा प्रवेश गर्ने प्रत्येक नागरिकको तथ्याङ्क राख्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले महिलाहरू सामाजिक सञ्जालमा हुने ट्रोलको समेत सिकार भइरहेको बताइन्। साथै मानव बेचबिखन नियन्त्रण गर्न धनगढी विभिन्न काम गरिरहेको रानाको भनाइ छ । 'महिला हिंसा र मानव बेचबिखनसँग सम्बन्धित गुनासो सम्बोधनका लागि पालिकाले आवश्यक पहल गरिरहेको छ,' उनले भनिन्।
आयोगले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी सुधार, सुरक्षित आप्रवासन, सीमा निगरानी, साइबर अपराध नियन्त्रण तथा पीडितमैत्री न्याय प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। कार्यक्रममा जिल्ला समुन्वय समिति प्रमुख टीका कुमारी चौधरी (भुल)ले मानव बेचबिखन महिला तथा बालबालिकामाथिको गम्भीर चुनौती भएको बताइन् । यसको नियन्त्रणका लागि सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक भएको उनले बताइन् ।




2026-08-07-04-45-06.jpeg)

तपाईको प्रतिक्रिया