टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटोरी स्ट्राइकलाई नेपालले दियो १२३ रनको लक्ष्य

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26
Paschim Today

काठ्माण्डौ - अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ।

डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको हो।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे।

लोकेश बमले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा १८ रन जोडे। नारायण जोशीले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाए।

कप्तान अनिल साहले ९ बलमा १४ रन तथा त्रिदेव दासले १३ रनको योगदान दिए। रसिद खानले १० र कुशल मल्लले ९ रन बनाए। ओपनर कुशल भुर्तेल भने शून्य रनमै पभेलियन फर्किए।

नर्दन टेरिटोरी स्ट्राइकका बलरमध्ये हामिश मार्टिनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान १–१ विकेट लिए।

अब नर्दन टेरिटोरी स्ट्राइकले २० ओभरमा १२३ रनको लक्ष्य पछ्याउनेछ।