कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर

शनिबार भदौ ६, २०८३/ Saturday 08-22-26
Paschim Today

काठमाडाैं  ६ भदौ  । कांग्रेसमा अदालतको पुनरवलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढिरहेका वेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय भएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीस्थित निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरवलोकन हुनुअगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

फैसला जसको पक्षमा आए पनि त्यसपछि पार्टी एकताको सम्भावना थप जटिल बन्न सक्ने भन्दै कोइरालाले अहिले नै देउवा र सभापति गगन थापाबिच संवाद गराएर सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । यसअनुसार घटनाक्रम पनि विकसित भएका छन् ।

देउवा पक्षले असोजमा तय गरिएको १५औँ महाधिवेशन रोक्न सर्वोच्चमा दर्ता गर्न खोजेको रिट ‘थप अध्ययन’का लागि रोकिएको छ । उता, कोइरालाले पुनरवलोकन प्रक्रिया चलिरहेका वेला संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।

शेखरसँगको भेटमा देउवा आफू एकताको पक्षमा रहेको, तर थापाबाट अहिलेसम्म पार्टी मिलाउने विषयमा ठोस पहल नभएको भन्दै असन्तुष्ट देखिएका छन् । ‘म मिल्ने पक्षमै त छु, नमिल्ने कहिले, कहाँ भनेको छु ? 

तर, कसरी मिल्ने, के गर्ने, गगन थापाले ठोस पहल त गर्नुपर्‍यो नि !’ कोइरालासँग देउवाको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले  भने । 

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टी मिलाउने प्रयासस्वरूप शेखर कोइरालाले पाँचबुँदे र सातबुँदे प्रस्तावमा सहमति गराउने प्रयास गरे पनि संस्थापन पक्षले चासो नदेखाएपछि समस्या झन् जटिल बनेको बताएका छन् । सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनका लागि निस्सा आएपछि अब पनि पार्टी मिल्न सक्ने सम्भावनाबारे उनले निवर्तमान सभापति देउवासँग छलफल गरेको बताए ।