नेपालमा अमेरिकी कन्ट्री गायिका जेसिका लीन, नेपाली संगीतकर्मीसँग व्यावसायिक सहकार्य
काठमाडौँ । अमेरिकी कन्ट्री गायिका तथा गीतकार जेसिका लीन नेपाली संगीतकर्मी तथा संगीत उद्योगसँग आबद्ध पेशाकर्मीसँग व्यावसायिक आदानप्रदान, मार्गदर्शन र सहकार्यका लागि काठमाडौँ आएकी छन्।
अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमअन्तर्गत लीनको नेपाल भ्रमण भएको हो। भदौ ८ देखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा उनले नेपाली गायक–गायिका, संगीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक लगायतसँग विभिन्न अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनेछिन्।
कार्यक्रममा गीत लेखन, संगीत व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार तथा समग्र संगीत उद्योगका विषयमा छलफल हुनेछ। यसबाट नेपाली संगीतकर्मीले अमेरिकी संगीत उद्योग, बजार, श्रोता–दर्शक तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे जानकारी र नयाँ दृष्टिकोण प्राप्त गर्ने अपेक्षा गरिएको छ।
नेपालको संगीत क्षेत्र विस्तार हुँदै गएकाले नेपाली सर्जकलाई अन्तर्राष्ट्रिय संगीत उद्योगसँग जोड्न यस्ता कार्यक्रमले सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रमबारे कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले नेपाल र अमेरिकाबीचको साझेदारी कला तथा संगीतको क्षेत्रमा समेत विस्तार भइरहेको बताए। उनका अनुसार संगीत दुई देशका नागरिकलाई जोड्ने प्रभावकारी माध्यम हो। अमेरिकी र नेपाली कलाकारबीच ज्ञान, अनुभव तथा व्यावसायिक सम्बन्ध आदानप्रदान गराउँदै नेपालको सिर्जनात्मक क्षेत्रको विकासमा योगदान पुर्याउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए।
‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते शनिबार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा सार्वजनिक कन्सर्टमार्फत हुनेछ। कन्सर्टमा जेसिका लीनसँगै नेपाली कलाकार रातो रानी र उजन शाक्यले प्रस्तुति दिनेछन्।
त्यस अवसरमा प्रख्यात सारङ्गीवादक तथा अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीसँग लीनको विशेष ‘फ्युजन’ प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।







तपाईको प्रतिक्रिया