दृष्टिविहीन ४२ विद्यार्थीलाई अडियो प्लेयर र पेनड्राइभ वितरण

बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26
Paschim Today

ललितपुर — जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना राज्य समितिको आयोजनामा ललितपुरमा दृष्टिविहीन विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको छ।

रिभाइभ लेजर पार्क एन्ड रेस्टुरेन्ट, ललितपुरमा आयोजित कार्यक्रममा कक्षा ८ देखि स्नातक तहसम्म अध्ययनरत ४२ जना दृष्टिविहीन विद्यार्थीलाई अडियो प्लेयर डिभाइस र पेनड्राइभ वितरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता जय नेपाल फाउन्डेसन, काठमाडौंका बद्री अर्यालले गरेका थिए। कार्यक्रममा जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना राज्य समिति, अमेरिकाका सभापति बासुदेव भट्ट प्रमुख अतिथि थिए।

त्यस्तै, नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ की नेतृ तथा नेपाल महिला संघकी निवर्तमान केन्द्रीय सदस्य रिशा श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा काठमाडौं ह्वीलचेयर टेनिस संघका अध्यक्ष विकास थापा र ललितपुर नेत्रहीन संघका अध्यक्ष सागर लामाको पनि उपस्थिति थियो।

कार्यक्रममा विद्यार्थीलाई वितरण गरिएको अडियो प्लेयर डिभाइसको प्रयोग तथा उपयोगिताबारे डेमोसमेत प्रस्तुत गरिएको थियो। विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी र शिक्षक प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा लेबोरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, नमुना मच्छिन्द्र माध्यमिक विद्यालय, नमुना कलेज र सञ्जीवनी होस्टेलका विद्यार्थी तथा शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो।

विद्यार्थीलाई वितरण गरिएका सामग्रीका लागि आवश्यक रकम जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना राज्य समितिको कार्यसमिति तथा अन्य सहयोगी मनहरूबाट संकलन गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार दृष्टिविहीन विद्यार्थीको अध्ययनमा प्रविधिको पहुँच विस्तार गर्ने र उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको हो।

कार्यक्रम कुशल न्यौपानेले सञ्चालन गरेका थिए।