रसुवा बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क सङ्कलन गरिँदै

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26
Paschim Today

काठमाडौँ । रसुवा बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र समन्वयको काम भइरहेको रसुवा जनस्वास्थ्य कार्यालयले जनाएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा जनजीवनका साथै स्वास्थ्य संस्था, स्वास्थ्य सेवा, सामग्री, जनशक्ति र औषधिमा पुगेको क्षतिको विवरण कार्यालयले सङ्कलन गरिरहेको छ।

बाढी प्रभावित स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान, आवश्यकताको मूल्याङ्कन तथा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन सबै सम्बद्ध निकाय एवं संघ संस्थाहरूबाट सहयोग र समन्वयको अपेक्षा गरिएको छ।

यसैबिच, कार्यालयले बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्याङ्क, विवरण वा प्रतिवेदन माग गर्न आउने गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी लगायतका संघ संस्थाहरूका लागि विशेष प्रक्रिया तोकेको छ।

तथ्याङ्क वा सूचना माग गर्दा संस्थाको आधिकारिक लेटर हेडमा तयार पारिएको पत्र, संस्थाको उद्देश्य, विवरण र माग गरिएको सूचनाको प्रयोजन स्पष्ट खुलाएर मात्र कार्यालयमा उपस्थित भई वा इमेलमार्फत अनुरोध गर्नुपर्नेछ। आधिकारिक प्रक्रिया नपुगेको अवस्थामा तथ्याङ्क वा विवरण उपलब्ध गराउन कार्यालय बाध्य नहुने स्पष्ट पारिएको छ।

795807520_1775120543907943_1244836620230749157_n