आँगनमा हराएको घर
दीर्घराज उपाध्याय,
घर,
आँगन,
प्रियजन
र प्यारो बेत्रावती बगाएर
भोटेकोशीले छोडेर गएको बगर।
त्यहीँ भेटिएको
आमाको एउटा चप्पल,
तस्वीरहरूको एल्बम,
त्यहीँ अल्झिएको
हजुरआमालाई मन पर्ने
रातो पछ्यौरा,
र छोराको
काठको घोडा।
के सङ्गाल्नु ?
पीडा कि
पीडाका सर्जामहरू ?
कसलाई सम्हाल्नु ?
मनलाई कि
प्रलय थामिएपछि पनि
अविरल बगिरहेका
यी अश्रुधारा ?
सबैथोक खोसेर लगेको
भोटेकोशीले
एक्लो जीवन
बक्सिस दियो भनेर
हाँस्नु कि रुनु ?
बाँच्न
यादहरूले दिँदैनन्,
मर्नु कि बहुलाउनु ?
बगेकाहरूको भन्दा
क्रूर छ
बाँचेकाहरूको नियति।
भोटे कुकुर
खोस्रिरहेको छ बगर,
खोजिरहेको छ मालिक
र
आँगनमा हराएको घर।
चौतारोमा छन्
आफ्नै मलामी गएका
एक हुल मान्छेहरू।
जिउँदो भन्नु
सास छ,
बाँकी छैन केही-
न सपना,
न जीवनका रङहरू,
न सम्बन्धका इन्द्रेणीहरू,
न प्रियजनका साथहरू।
केही नरहेपछि
बाँकी
जिउँदो के रह्यो ?
को रह्यो ?
जो जीवनभर
कहिल्यै बाँडिएनन्,
जेठा र कान्छाका दैलोमा
सँगसँगै बाँचेका थिए-
हुत्याएर पाखामा बाबालाई,
आमालाई बगाएर लैजाने
भोटेकोशीलाई
सोध्न मन छ-
जीवनभर
अलग हुन नसकेका
ती बाआमालाई
कसरी सक्यौ
अलग गर्न ?
अभाव, दुःख र पीडाका
पहाडहरू छिचोलेर
आदिम युग बाँचेका
वृद्ध दम्पती
बिथोलिएका छन्
भोटेकोशीको त्रासदीले।
नुनिलो आँसु
सकिएर
रुनै बिर्सिएका बा।
आमाको यादमा
र सन्तानको विरहमा
भक्कानिरहन्छन्,
बर्बराइरहन्छन्
हरपल।
घरको भग्नावशेषमा
तेस्रो दिन जीवितै उद्धार गरिएकी
सानी-
भाग्यले बाँचेकी
उनको अनुहारमा छ
समयले दिएको
कुरूप घाउ।
जसलाई थाहा छैन-
बाबा कहाँ छन् ?
आमा कहाँ छन् ?
नभनिदिनु
खोलाले बगायो भनेर।
बाआमा
फर्केर आउने आसमा
बाँचिरहनेछिन् उनी।
पालोको पैँचो
यस्तो भयावह !
तिमीसँग
के लिएका थिए सापटी
बेत्रावती,
स्याफ्रुबेसी
र टिमुरेहरूले ?
भन त, भोटेकोशी !
आँखैअगाडि
बगेका तीन पुस्ता-
हजुरबा
बिर्सिएका छन् निदाउन।
आएर गयो
निमेषमै,
बगाएर लग्यो
सबैथोक।
हजुरबुवाको तस्वीर थियो त्यहाँ,
त्यहीँ थियो
बुवाको पसिनाको सुगन्ध।
आमाले सन्तानको रक्षाका निम्ति
भाकल गरेको पैसा
थियो त्यही मन्दिरमा।
प्रज्वलित दीपलाई साक्षी राखेर,
दैलोमा चामल कुल्चिएर
बुहारी भित्र्याउँदा
लेखिएका मन्त्र हरूसँगै
थुप्रै यादहरू
कुदिएका थिए
त्यही भित्तामा।
त्यो घर-
जसका भित्ताहरू
बाझैँ बलिया थिए,
हजुरबाको विश्वासझैँ
अटल थियो जग।
दैलो
आमाको स्नेहको द्वार थियो।
निमेषमै ढल्यो-
गल्र्यामगुर्लुम।
थिएन केवल घर,
थियो त्यो
सपना, आशा
र भरोसाको त्रिवेणी।
न सपना रह्यो,
न त आशा।
यादहरूको बैसाखीमा
कसरी कटाउनु जीवन ?
दागबत्ती दिएर
कुशमा
अन्त्येष्टि गर्नुछैन,
अँगालोमा बाँधेर
रुन मन छ-
धीत नमरुञ्जेल।
भो,
धेरै गरायौ
पीडादायी पर्खाइ।
सामाजिक सञ्जालमा भेटिने
सरकार-
सुरुङमा
कहिले भेटिएला ?
नागरिकको मृत्युपछि
कि अघि ?
लाखे र गाईजात्राको
रौनक हराएको
बेत्रावतीमा
रोकिएको छ समय।
नियतिले पछारेको
हिलोबाट उठ्नु छ।
ठड्याउनु छ
बेत्रावती,
टिमुरे,
स्याफ्रुबेसीसँगै
तमाम बस्तीहरू।
तिर्खाएका मान्छे अनि चौपाया,
प्यासले काकाकुल
मैना र भंगेराहरू-
धीत नमरुञ्जेल
मार्थे डुबुल्की,
मेट्थे प्यास
त्यही भोटेकोशीमा।
आफैँ तिर्खाएछ
यसपटक भोटेकोशी।
बगाएर सबैलाई
मेट्यो-
यो कस्तो प्यास ?
सबैथोक बगाएर
बगरमा
आफैँलाई खोजिरहेको भोटेकोशी।
कसरी भयो
अनर्थ
यति ठूलो?
लज्जा,
ग्लानि
र पश्चात्तापको
आगोमा जलिरहेको पानी।
बगेका घरहरू
र मान्छेहरूलाई
कसरी सम्झाउनु-
नदीले माफी मागिसक्यो भनेर ?







तपाईको प्रतिक्रिया