सुदूरपश्चिमाञ्चल क्याम्पसका प्राध्यापक डा. देवेन्द्रप्रसाद भट्टलाई अन्तर्राष्ट्रिय साहित्य सम्मान
धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पसका प्राध्यापक तथा साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टलाई भारतको राजधानी नयाँ दिल्लीमा अन्तर्राष्ट्रियस्तरको साहित्य सम्मान प्रदान गरिने भएको छ। नेपाल–भारतबीचको भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले मासिक साहित्यिक संगोष्ठी, दिल्लीको आयोजनामा यही १२ सेप्टेम्बर २०२६ मा नयाँ अशोक नगरस्थित डी.पी.एम.आई. सभागारमा आयोजना हुने विशेष साहित्यिक समारोहमा डा. भट्टलाई सम्मान गरिन लागेको हो।
आयोजक 'जगमोहन सिंह रावत ‘जगमेरा’' द्वारा डा. भट्टलाई पठाइएको औपचारिक निमन्त्रणापत्रमा उनलाई नेपालको प्रतिष्ठित शिक्षाविद्का रूपमा उल्लेख गर्दै साहित्य, शिक्षा र समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गर्न लागिएको स्पष्ट गरिएको छ। डा. भट्ट मूलतः अछाम निवासी हुन्। हाल उनी सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीमा प्राध्यापनरत छन्। नेपाली भाषा तथा साहित्यको अध्यापनसँगै सिर्जना, समालोचना, साहित्यिक अनुसन्धान, सांस्कृतिक गतिविधि र सामाजिक सेवाका क्षेत्रमा समेत उनको सक्रिय योगदान रहँदै आएको छ। सुदूरपश्चिमको साहित्यिक चेतना र नेपाली भाषाको उन्नयनमा उनको योगदानलाई पनि यस सम्मानसँग जोडेर हेरिएको छ।
सम्मान समारोहसँगै आयोजित साहित्यिक कार्यक्रममा गढवाली, कुमाउनी, जौनसारी तथा नेपाली भाषाका गीत–कविता, वक्तव्य, लोकपरम्परा तथा बहुभाषिक कवि सम्मेलनलगायतका कार्यक्रमसमेत राखिएका छन्। यसले समारोहलाई केवल सम्मान कार्यक्रमका रूपमा नभई भारत र नेपालका विभिन्न भाषिक तथा सांस्कृतिक समुदायबीचको साहित्यिक सेतुका रूपमा समेत स्थापित गर्ने देखिन्छ।
डा. देवेन्द्रप्रसाद भट्टलाई प्राप्त यो सम्मानले सुदूरपश्चिमको साहित्यिक प्रतिभालाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय साहित्यिक मञ्चमा स्थापित गराउने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
विशेषतः नेपाली भाषा, साहित्य र शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय एक प्राध्यापक साहित्यकारलाई भारतको राजधानीमा सम्मान गरिनुले नेपाल–भारतबीचको पुरानो भाषिक तथा साहित्यिक आत्मीयतालाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। सुदूरपश्चिमाञ्चल क्याम्पस परिवार, धनगढी तथा नेपाली साहित्य क्षेत्रले डा. भट्टलाई प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानलाई गौरवपूर्ण उपलब्धिका रूपमा लिएको छ।







तपाईको प्रतिक्रिया