एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव २०औं एसियाली खेलकुद (एसियाड) औपचारिक रूपमा सुरु
नागोया (जापान) : एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव २०औं एसियाली खेलकुद (एसियाड) शनिबार जापानको आइची–नागोयामा भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु भएको छ।
जापानको नागोया सहरस्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियम (पालोमा मिजुहो स्टेडियम) मा आयोजित उद्घाटन समारोहमा एसियाका ४५ राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाडीले मार्चपास गरेका थिए। जापानका सम्राट नारुहितोले २०औं एसियाली खेलकुद औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरेका थिए।
समारोहमा सम्राज्ञी मासाको, जापानी शाही परिवारका सदस्य, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी अध्यक्ष कस्र्टी कोभेन्ट्री तथा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जोआन बिन हमाद अल थानीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
जापानले ३२ वर्षपछि एसियाली खेलकुद आयोजना गरेको हो। यसअघि जापानले सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा एसियाड आयोजना गरेको थियो। त्यसैले आइची–नागोया जापानमा आयोजना भएको तेस्रो एसियाली खेलकुद हो।
नेपालको झन्डा चन्द्र र मानमतीको हातमा
उद्घाटन समारोहमा नेपालको प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। बक्सिङका चन्द्रबहादुर थापा मगर र महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले नेपालको राष्ट्रिय झन्डा बोकेर नेपाली टोलीको नेतृत्व गर्दै मार्चपास गरेका थिए।
चन्द्रबहादुरका लागि यो जिम्मेवारी उनको पछिल्लो अन्तर्राष्ट्रिय सफलताको सम्मान पनि थियो। उनले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए। एसियाडमा पनि उनी नेपालका पदक सम्भावना बोकेका खेलाडीमध्ये एक हुन्।
मानमती भने नेपाली महिला कबड्डी टोलीकी महत्त्वपूर्ण खेलाडी हुन्। उनको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो। त्यसैले दुई फरक खेलका यी खेलाडीलाई नेपालको राष्ट्रिय झन्डा बोक्ने जिम्मेवारी दिनु उनीहरूको पछिल्लो अन्तर्राष्ट्रिय उपलब्धिलाई प्रतिनिधित्व गर्ने प्रतीकका रूपमा हेरिएको छ।
नेपालको टोली राष्ट्रिय झन्डासहित मैदानमा प्रवेश गर्दा नेपाली खेलाडी तथा पदाधिकारीले उत्साहपूर्वक मार्चपास गरेका थिए। १ सय ३५ नेपाली खेलाडीले यसपटक एसियाडमा प्रतिस्पर्धा गर्दै छन्। जसमा ७८ पुरुष र ५७ महिला खेलाडी छन्। नेपाली खेलाडीले २१ खेलमा सहभागिता जनाउँदै छन्।







तपाईको प्रतिक्रिया