नेपालको स्वर्णको आशा अधुरो

सोमबार असोज ५, २०८३/ Monday 09-21-26
Paschim Today

नागोया :  जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदमा नेपालका लागि आइतबार पदकको आशा गरिएको दिन थियो। विशेषगरी करातेकी एरिका गुरुङमाथि सबैले पहिलो एसियाली खेलकुद स्वर्णको ठूलो आशा राखेका थिए। तर, दिनको प्रतिस्पर्धा सकिँदै जाँदा नेपालको स्वर्णको आशा अधुरो बन्न पुग्यो। सेमिफाइनलमा पराजित भएकी एरिका कांस्य पदक भिडन्तमा पनि पछि परिन्। अर्को पदकको आशा गरिएको करातेकी सानुमाया थिङ र उसुका विजय सिञ्जालीले पनि नेपालीलाई खुसी दिलाउन सकेनन्। उनीहरू दुवैको प्रदर्शन सुखद बन्न सकेन। 

आइतबारको नेपाली प्रदर्शनको केन्द्रमा रहेको करातेमा एरिकाले सुरुवात भने प्रभावशाली गरेकी थिइन्। महिला ६८ केजीमाथिको कुमितेमा उनले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्। हाङझाउ एसियाडमा रजत पदक जितेकी एरिकाबाट यसपटक स्वर्णको अपेक्षा गरिएको थियो। तर, सेमिफाइनलमा पुग्दा उनको सामना काजाखस्तानकी सोफ्या बेरुल्त्सेभासँग भयो। 

हाङझाउको फाइनलमा पनि एरिकालाई पराजित गर्दै स्वर्ण जितेकी बेरुल्त्सेभाले नागोयामा पनि नेपाली खेलाडीको स्वर्ण यात्रामा बाधा बनिन्। उनले एरिकालाई २–१ ले हराउँदै निरास पारिन्। यस्तै कांस्य पदक भिडन्तमा उनी साउदी अरेबियाकी दिना अहमद मुस्तफासँग ८–७ अंकले पराजित भइन्।  

एरिकाको हारसँगै नेपालले एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्ने लक्ष्यका लागि फेरि अर्को प्रतीक्षा गर्नुपर्ने भएको छ। एरिकामाथिको अपेक्षा यसपटक अझ ठूलो थियो। हाङझाउमा उनले नेपालका लागि करातेको पहिलो रजत जितेकी थिइन्। त्यसपछि लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका कारण उनलाई नागोयामा स्वर्णको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो। तीन वर्ष लामो ‘मिसन २०२६’को तयारीमा पनि करातेलाई नेपालले पदकको मुख्य आधार मानेको थियो।