दसौं राष्ट्रिय खेलकुद: मूल आयोजक समितिले गर्यो पाँच निर्णय
सुर्खेत- कर्णालीमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मूल आयोजक समितिले आइतबार पाँचवटा निर्णय गरेको छ।
समितिले सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमलाई सहभागी गराउने, ३२ खेल विधामा प्रतियोगिता सञ्चालन गर्ने र निजी क्षेत्रसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार सहकार्य गर्ने निर्णय गरेको हो।
समितिको बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका सुर्खेतलगायत जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मतसम्भारलाई प्राथमिकता दिने निर्णय पनि गरिएको छ।
खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने र प्रतियोगिताको प्रचारप्रसारमा सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै, निजी क्षेत्र, संघसंस्था तथा स्थानीय तहलाई प्रतियोगितामा जोड्दै प्रायोजकसँग एमओयू गर्ने निर्णय भएको छ। प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गर्ने र प्रतियोगिता आयोजना तथा व्यवस्थापनका आवश्यक काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरिएको छ।







तपाईको प्रतिक्रिया