‘हिजो गो*ली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल, पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन’ : लिङ्देन

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26
Paschim Today

काठ्माडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएको भन्दै देश पूर्ण रूपमा ‘लिक’ बाट बाहिर गएको बताएका छन्। 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले देशमा राजनीतिक तरलता बढाएको भन्दै सबै राजनीतिक दललाई गम्भीर बन्न आग्रह गरे। 

उनले सत्ता र पात्र परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने भन्दै व्यक्ति परिवर्तन हुदैमा देश र जनताको समस्याको समाधान नहुने बताए। 

‘विगत केही महिनाका घटनाक्रमले मान्छे वा पात्र फेरेर मात्रै समस्याको समाधान हुँदैन भन्ने स्पष्ट पारिसकेको छ,’ उनले भने, ‘समस्या मान्छेमा मात्र होइन, तपाईंहरूले ‘उत्कृष्ट’ भनेर ल्याउनुभएको वर्तमान व्यवस्था र संविधानमा पनि छ।’  

संविधान संशोधन गर्न नमिल्ने दस्तावेज नभएको बताउँदै  संविधानमा देखिएका कमजोरी सच्याउनुपर्ने बताए। ‘व्यवस्थामा रहेका कमजोरीहरूलाई सच्याउनुपर्छ, नमिलेका कुरालाई मिलाउनुपर्छ,’ उनले भने। 

उनले राजनीतिक असहमति र आलोचनाबाट आएको परिवर्तनप्रति टिप्पणी गर्दै विगतमा विरोध गर्नेहरूलाई गोलीको सामना गर्नुपर्ने अवस्था भएपनि अहिले सामाजिक सञ्जालमार्फत आक्रमण हुने गरेको उनले बताए। 

‘हिजो गोली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल प्रयोग हुन्छ, पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन,’ उनले भने। मुलुक बिग्रिँदा त्यसको असर कुनै एउटा दल वा समूहमा मात्र नपर्ने भन्दै उनले सबै राजनीतिक शक्तिलाई साझा रूपमा जिम्मेवार बन्न आग्रह गरे। 

‘सिंहदरबार जल्दा सत्तामा बस्नेहरूको मात्रै जलेको होइन, सिंहदरबार त हामी सबैको जल्यो,’ लिङ्देनले भने, ‘त्यसैले देश बिग्रिँदा हामी सबैको बिग्रिन्छ।’ 

उनले विगतमा राजाबाट राजनीतिक दललाई र पछि राजनीतिक दलबाट राजालाई निषेध गरिएको उल्लेख गर्दै उनले दलभित्रसमेत निषेधको राजनीति चलिरहेको बताए। 

‘यो निषेधको राजनीतिले आज देशलाई कहाँ पुर्‍यायो? ’  उनले प्रश्न गरे। 

अहिले पनि मुलुकको अवस्था पूर्ण रूपमा बिग्रिनसकेको उल्लेख गर्दै लिङ्देनले देशलाई निकास दिन राजादेखि राजनीतिक दलसम्मलाई समेटेर नवीन समझदारी र राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताए।