गोविन्द राज उपाध्यायले हासिल गरे अर्थशास्त्रमा विद्यावारिधि
धनगढी । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयमा प्राध्यापनरत गोविन्द राज उपाध्यायले अर्थशास्त्रमा विद्यावारिधि ९पीएचडी० उपाधि हासिल गरेका छन्।
भारतको उत्तर प्रदेशस्थित महात्मा ज्योतिबा फुले रुहेलखण्ड विश्वविद्यालय, बरेलीबाट उनले विद्यावारिधि पूरा गरेका हुन्। विश्वविद्यालयको क्षेत्रीय अर्थशास्त्र विभागअन्तर्गत उनले नेपालको सिमसार पारिस्थितिकीय प्रणालीको संरक्षण, त्यसबाट प्राप्त हुने सेवाको आर्थिक मूल्य र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी विषयमा अनुसन्धान गरेका थिए।
उनको शोधपत्रको शीर्षक ‘Estimating People’s Willingness to Pay for Conservation of Wetlands Ecosystem Services and Sustainable Development of Resources in Nepal’ रहेको छ। शोधकार्यमा प्रा. डा. आशुतोष प्रिया प्रमुख सुपरिवेक्षक तथा भारतको चौधरी चरण सिंह विश्वविद्यालय, मेरठका प्रा. डा. सञ्जीव कुमार बाह्य सुपरिवेक्षक थिए।
उपाध्यायले नेपाल खुला विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल तथा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका छन्। उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशित गरिसकेका अनुसन्धानकर्ता हुन्। उनको शैक्षिक तथा अनुसन्धानमूलक योगदानका लागि सन् २०२५ मा भारतमा ‘Excellent Academician of the Year 2025’ सम्मानसमेत प्रदान गरिएको थियो।
हाल ऐश्वर्य बहुमुखी क्याम्पसमा प्राध्यापनरत उपाध्यायको अनुसन्धानले सिमसार संरक्षण, वातावरणीय अर्थशास्त्र र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनसम्बन्धी अध्ययनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।





तपाईको प्रतिक्रिया