आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आइतबार कार्तिक ३०, २०८३/ Sunday 11-15-26
Paschim Today

काठमाडौं । तराई–मधेशमा आइतबार महान् लोकआस्थाको पर्व छठ मनाइँदै छ । व्रतालुहरूले आज साँझ ‘सझिया घाट’ मा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्नेछन् । शनिबार ‘खरना’ विधिअन्तर्गत दूध र गुड हालेर पकाइएको खीर ९रस्याउ० तथा रोटी खाएका व्रतालुहरू आज दिनभर निर्जल निराहार व्रत बसिरहेका छन् ।

साँझ व्रतालु र उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठ घाट पुग्नेछन् । नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजासामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउनेछन् । प्रायः परिवारका पुरुष सदस्यले यो जिम्मेवारी निर्वाह गर्छन् ।

छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौं घाटमै बसेर पूजाअर्चना गर्नेछन् । केही व्रतालु राति घर फर्केर आँगनमा ‘कोशी भर्ने’ विधि पनि गर्नेछन् । माटोको हात्ती राखेर पूजा गरिने यो विधिले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिस पनि सहभागी भएर पूजाअर्चना गर्छन् । घाटमै रात बिताउने व्रतालुहरू भने भजनकीर्तन गर्दै जाग्राम बस्नेछन् ।

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्रै व्रतालुहरूले व्रत तोड्नेछन् । छठका लागि घरघरमा ठेकुवालगायत प्रसाद बनाउने क्रम पनि जारी छ ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट बेहुलीझैं सिँगारिएका छन् । जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा पनि छठ घाट तयार पारिएका छन् ।

सभामुख अर्याल र कांग्रेस सभापति थापा वीरगन्ज आउँदै

यसैबीच प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र नेपाली कांग्रेसका सभापति गगन थापा आइतबार वीरगन्जस्थित घडिअर्वा पोखरीको छठ घाट पुग्ने कार्यक्रम रहेको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ । उनीहरूको आगमनलाई लक्षित गर्दै सुरक्षा निकायले वीरगन्ज, घडिअर्वा पोखरी परिसर तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।