Close This

डीपीएल–२ को आयव्यय सार्वजनिक

बुधबार बैशाख २६, २०७५/ Wednesday 05-09-18
Paschim Today

धनगढी, २६ बैशाख ।
धनगढीमा आयोजना भएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेट प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । 
    धनगढी क्रिकेट एकेडेमीले मङ्गलवार पत्रकार सम्मेलन गरी तीन करोड १२ लाख ७६ हजार ८२७ रुपैया बराबरको आयव्यय सार्वजनिक गरेको हो । प्रायोजक, टिकट, प्रवेश शुल्क लगायतबाट नगद एक करोड ९९ लाख आठ हजार ७६२ रुपैया आम्दानी भएको एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको क्रममा एक करोड १३ लाख ६८ हजार ६५ रुपैया बराबरको ‘होस्पीटालिटी’ लगायतका सहयोग भएका छन् । आयोजकले १० लाख १५ हजार ८५० रुपैया बराबरको टिकट बिक्री गरेको थियो । 
प्रतियोगिताको पुरस्कारमा ४३ लाख ७० हजार रुपैया खर्च गरिएको छ । विजेता टिमलाई २५ लाख र उपविजेतालाई १० लाख रुपैया पुरस्कार दिइएको थियो । यसैगरी, दोस्रो, तेस्रो हुने टिमलाई क्रमशः तीन लाख र दुई लाख रुपैया पुरस्कार प्रदान गरिएको थियो ।  
    प्रतियोगितालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब दुई करोड दर्शकले अवलोकन गरेको आयोजकले दावी गरेको छ । यसैगरी, मैदानमा प्रवेश गरेर औसतमा दैनिक तीन हजार दर्शकले अवलोकन गरेको जनाइएको छ । 
    यस वर्षको डीपीएल प्रतियोगितालाई आइसीसीले मान्यता दिनु नै प्रमुख उपलब्धी रहेको एकेडेमीका अध्यक्ष शाहीले बताए । यसका साथै, विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण, थर्ड अम्पायर, रिप्ले र डिजिटल स्कोर बोर्डको व्यवस्थाले यहाँको क्रिकेट खेलमा नयाँ तरङ्ग ल्याएको उनको भनाइ छ । 
    डीपीएलले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउनुले क्रिकेटको सहर धनगढीको प्रतिष्ठा पनि बढेको आयोजकले बताएको छ । डीपीएलमा पूर्वदेखि पश्चिमका सहरहरुको टिम बनाएर मुलुकभित्र क्रिकेटको माहोल सृजना गर्न खोजेको जनाइएको छ । प्रतियोगितामा विराटनगर किङ्ग्स, काठमाण्डौं गोल्डेन, रुपन्देही च्यालेञ्जर्स, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड गरि छ टिमको सहभागिता रहेको थियो । धनगढी स्थित सङ्घीय प्रहरी इकाईको मैदानमा गत चैत १७ देखि ३० गतेसम्म डीपीएल–२ प्रतियोगिता सञ्चालन भएको थियो । 
    यसैगरी, डीपीएलको अर्को संस्करण सकेसम्म निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट प्रतियोगितामा आयोजना गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । आगामी संस्करणमा ‘होम एण्ड अवे’, ‘डे नाइट’ खेल खेलाउने लक्ष्य समेत रहेको अध्यक्ष शाहीले बताए । 
    उनले डीपीएल ड्रिम फाप्ला अभियानको लागि दबाव रहेको जनाउँदै निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट रङ्गशाला तयार भएपछिमात्रै यसले सार्थकता पाउने बताए । अध्यक्ष शाहीले फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय योजनाको रुपमा घोषणा गरी तीन वर्षभित्रै तयार गर्न सरकारलाई आग्रह गरे । 
    ‘इच्छा शक्तिसहित अहिलेदेखि लागेमा यसलाई तीन वर्षभित्रै पूरा गर्न सकिन्छ’, उनले भने–‘असम्भव भन्ने केहि छैन ।’
    सरकारले तीन वर्षभित्रै तयार पार्न नसकेमा आफूहरुले भनेको ‘मोडेल’ को आधारमा निजी क्षेत्रलाई बनाउन स्वीकृति दिनु पर्ने शाहीले बताए । उनले पब्लिक, प्राइभेट, पार्टनरसीप (पीपीपी) मोडलमा फाप्ला क्रिकेट मैदान बनाउन चाहेको उल्लेख गर्दै भने–‘हामीले भनेको मोडेलमा निर्माण गर्दा चाँडै नै स्टेडियम बन्छ । र, सबैको अपनत्व पनि रहन्छ ।’
    अध्यक्ष शाहीले पीपीपी मोडेलमा रङ्गशाला निर्माण गर्दा लगानीका लागि निजी क्षेत्रहरु इच्छुक रहेको उल्लेख गरे । निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला रङ्गशालाको डिजाइन समेत सार्वजनिक गरिएको छ ।