वर्षाको पानीले पटक–पटक किन डुब्छ धनगढी ?
धनगढी, १० असोज । लगातार एक डेढ घण्टामात्रै मुसलधारे पानी प¥यो भने धनगढीको विभिन्न ठाउँ जलमग्न हुने गर्दछ । यस्तो समस्या विगत पाँच÷छ वर्ष यता नियमित निम्तिएको छ । खोलामा आधापनि पानी हुदैन । तर, धनगढीको मुख्य सडक स्थित पार्कमोड, एलएन चौक सहित नैनादेवी रोड, विशालनगर, शिवनगर डुबेर आवतजावतमा समेत समस्या हुने गर्दछ ।
मङ्गलवार विहान परेको पानीले असोजको दोस्रो सातामा धनगढी यस्तै गरी डुवेको थियो । विहान भएको मुसलधारे वर्षाको पानी भरिएपछि प्रदेश नम्बर ७ को प्रदेश सभा भवन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सशस्त्र प्रहरीको कार्यालय लगायत स्थानीयका घर समेत डुबानमा परेको थियो । सडक जलमग्न भएपछि आवत जावतमा समस्या भएको थियो । यद्यपि, डुबान केहि घण्टामात्रै भएको थियो । वर्षा रोकिएपछि डुबान भएको ठाउँको पानी घटेको थियो ।
वर्षाको पानीलेमात्रै किन पटक–पटक डुव्छ त धनगढी ? पानीको उचित निकास हुने ढल नभएको र खोलानाला अतिक्रमणको कारणले यस्तो समस्या भोग्नु परेको नगरवासीले बताएका छन् । स्थानीय सरकार आएपछि पानी निकासको उचित व्यवस्था भइ समस्याबाट छुटकारा मिल्ने अपेक्षा गरे पनि पुनः त्यस्तै समस्या दोहोरिएको उनीहरुले गुनासो गरेका छन् ।
नगरवासीलाई डुब्नबाट जोगाउनका लागि स्थानीय सरकारले उचित कदम चाल्नु पर्नेमा गम्भीर नबनेको स्थानीय विपिन श्रेष्ठले गुनासो गरे । उनले धनगढी उपमहानगरपालिकाले नाली सफा गर्ने काम पनि देखावटीमात्रै रहेको आरोप लगाए ।
उनले भने–‘नगरपालिकाले ढल निकासको राम्रो व्यवस्था गर्न सकेको छैन । भएका ढलहरुको सफाई पनि राम्रो तरिकाले गरिदैंन । पिँधसम्म ढल सफाई नभएपछि कसरी पानीको निकास होस ?’
एक÷दुई घण्टामात्रै पानी परेपछि धनगढी डुवेको यो नौलो होईन । यसअघि, विगत वर्षमा पनि प्रदेश नम्बर ७ को अस्थायी राजधानी समेत रहेको धनगढी वर्षाकै पानीले डुबेको थियो । धनगढीमा हुँदै आएको डुवान समस्या दीर्घकालिन रुपमा समाधानका लागि सडक छेउछाउमा ‘ड्रेन’ बनाउन आवश्यक रहेको योगेन्द्र महतोले बताए । ‘ड्रेन बनाएपछि पानी निकास सहज हुनेछ ।’ उनले भने ।
स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि डुबान समस्याको समाधान हुने धेरै अपेक्षा गरेको नगरवासीले बताएका छन् । धनगढीमा रहेको खोला विभिन्न ठाउँमा मिचिएको छ । खोला अतिक्रमण गरेर घर समेत बनाइए पनि अतिक्रमण हटाउन सकिएको छैन । धनगढी उपमहानगरपालिकाले डुबान समस्या समाधानका लागि अतिक्रमण हटाउने भन्दै आएको वर्षदिन बितेको छ । यसअघि, अतिक्रमित क्षेत्रको पहिचान गर्न सर्वेक्षण गर्ने कार्यको थालनी गरिए पनि त्यस कार्यले समेत पूर्णता पाउन सकेन ।
खोलानाला नै थुन्ने गरी भएको अतिक्रमण र अवरोध हटाउन नसकिंदा हरेक वर्ष डुबान समस्या दोहोरिने गरेको छ । यसैगरी, नगरवासीले समेत भएभरका फोहोर ढल, नहर र खोलामा फालेर पानी निकासमा अवरोध पु¥याउँदै आएका छन् ।
पार्कमोडमा पुस्तकको व्यापार गर्दै आएकी बिनु चुवाईले नहर, कुलोको सरसफाइमा व्यापारी र नगरवासीले पनि ध्यान दिनु पर्ने बताइन् । ‘नगरपालिकालेमात्रै ध्यान दिएर समस्याको समाधान हुँदैन । समस्या सृजना हुने गरी फोहोर जथाभावी फ्याँक्ने नगरवासी, व्यापारीले पनि ध्यान दिनु प¥यो’, उनले भनिन् । धनगढीमा हुने गरेको डुबान समस्याको दीगो समाधानका उपाय अपनाउन आवश्यक रहेको चुवाईको भनाइ थियो ।
ढलको उचित व्यवस्थापन हुन नसक्नु र पानीको प्राकृतिक निकासमा भएको अवरोधले डुबान समस्या बर्सेनि भोग्नु परेको जनाइएको छ । धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले हिजोका दिन पानी सजिलै निकास हुने ठाउँमा आज बस्ती बसेकाले डुवान भइरहेको बताए ।
‘पानीको प्राकृतिक निकास हुने खल्ला ठाउँमा आज ठूलठूला घर बनेका छन्’, उनले भने–‘पानीको प्राकृतिक निकास रोकिएकाले डुबान समस्या हुन थालेको हो ।’ अध्यक्ष मुडभरीले सडक छेउमा ढल बनाएर र सरसफाइ गरेरमात्रै यो समस्या समाधान नहुने दावी गरे ।
‘धनगढी उपमहानगरपालिकाले सडक छेउछाउमा ढल बनाउनुका साथै, त्यसलाई सफाइ पनि गर्दै आएको छ । त्यो सामान्य पानी निकासका लागि मात्रै हो’, उनले अगाडि थपे–‘डुबान समस्याबाट जोगिन पानीको प्राकृतिक रुपमा हुने निकास थुनिएको क्षेत्रलाई नै व्यवस्थित गर्न आवश्यक छ । ढल बनाएरमात्रै समाधान हुँदैन ।’ जयमालिका कलेजले निर्माण गरेको पर्खालकै कारणले पनि वडा नम्बर १ को नैनादेवी र परिश्रम टोल पुरै डुबान भएको अध्यक्ष मुडभरीले जानकारी दिए ।
धनगढीभित्र हिउँदमा खल्ला ठाउँमा जग्गा देखाएर त्यसलाई घरेडीमा परिणत गर्ने कार्य भइरहेको छ । ती खल्ला ठाउँमा बनेका बस्ती नै सबैभन्दा पहिले डुब्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया