भजनीमा उपप्रमुख सहित वडाध्यक्षद्धारा कार्यपालिका बैठक बहिस्कार

आइतबार असार २७, २०७८/ Sunday 07-11-21
Paschim Today

कैलाली,२७ असार ।कैलालीको भजनीमा उपप्रमुख छाया देवकोटा सहितका वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका छन् । नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा निर्णय गर्न थालेपछि बैठक बहिस्कार गरेको उपप्रमुख देवकोटाले बताइन् ।

‘योजना तर्जुमा नै नगरी बजेट पारित गर्न थालेपछि हामीले विरोध गरेका हौँ ’उनले भनिन्, ‘प्रमुखले बहुमत देखाउन थालेपछि हामीले बहिस्कार ग¥यौँ ।’प्रमुख चौधरीले नगर स्तरीय निर्णय पारित गर्ने प्रस्ताव ल्याए लगत्तै कार्यपालिका सदस्यहरूले ताली पड्काएका थिए ।

वडास्तरिय योजना पारित गर्ने प्रस्तावमा पनि ताली पड्काएका थिए । उपप्रमुख देवकोटाले माइनट कब्जा गरेपछि उक्त निर्णय भने हुन पाएन ।उपप्रमुख देवकोटा सहितका वडा नम्बर १ का अध्यक्ष  रबिन थापा, ५ का अध्यक्ष  केशव बहादुर बुढा र ३ का अध्यक्ष  विक्रम चौधरीले बहिस्कार गरेका थिए । थापा र बुढा एमालेका हुन् भने चौधरी जसपाका हुन् ।

अहिले भजनीको कार्यपालिकामा १९  जना सदस्य छन् । आइतबार ४ जनाले बहिस्कार गरेका हुन्।सोमबार १० बजे नगर सभा आयोजना गरिएको उनले बताइन् । त्यसमा पनि विरोध हुने देवकोटाको भनाइ छ ।

१८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि पनि उपप्रमुख देवकोटालाई प्रमुख चौधरीले अधिकार नदिएको उनको आरोप छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४मा बजेट तथा कार्यक्रम तर्जुमा समिति तयार गरिएको छ । त्यसमा उपाध्यक्ष वा उपप्रमुख – संयोजक रहने व्यवस्था छ । तर, उपप्रमुखलाई जानकारी नगराई बजेट तथा कार्यक्रम तर्जुमा गरेको भन्दै विरोध भइरहेको छ ।