पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरे : केपी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागिपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताए ।
‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए । समस्याको सिर्जना गरे ।’
पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नपर्ने उनको भनाइ थियो ।
‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, जस्ता कुराहरू बोल्ने ? तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुस् न, बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन,’ ओलीले भनेका छन् ।
साथै, उनले अराजकतालाई नियन्त्रण गरेर अनुशासित पार्टी बनाउनुपर्नेमा जोड दिए ।
‘यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित बनाएर अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,’ ओलीले भनेका छन् ।






तपाईको प्रतिक्रिया