Close This

भारत आठौं पल्ट च्याम्पियन,नेपाल पराजित

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

माले,३० असोज ।

नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसंग शनिबार ३–० ले पराजित भएको छ । यो जीतसंगै भारतले साफ च्याम्पियनसिपको उपाधि आठौं पल्ट हात पारेको छ । पहिलो पटक फाईनलमा पुगेको नेपाल भने उपबिजेतामै सिमित भएको छ ।

नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको अनुपस्थिति, भारी वर्षा र पहिलो पटक फाईनल खेल्नुको तनावका बीच खेलेको नेपालले पहिलो हाफमा भारतलाई शुन्यको बराबरीमा रोकेपनि दोस्रो हाफमा भने रोक्न सकेन ।

भारतले दोस्रो हाफको शुरुवातमा एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । त्यसपछि उसले एक गोल थप गर्यो । भारतका लागि पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । दक्षिण एसियाली फुटबलको महाशक्ति रहेको भारत नेपालविरुद्धको खेलमा पुरै अबधि हावी रह्यो।


राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । फाइनलमा प्राप्त जित उसको लगातार तेस्रो थियो र यी तीनै खेलमा उसका लागि निश्चित जित आवश्यक थियो । यस्तोमा भारतले प्रतियोगितामा उत्कृष्ट पुर्नआगमन गर्दै उपाधि चुमेको छ ।