नेपाली काँग्रेसका स्वर्गीय नेता चोखालकी छोरी निपाको राजनीतिमा ईन्ट्री

धनगढी, ९ मंसिर ।
नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दिग्गज र प्रभावशाली नेताहरुले हार व्यहोरिरहदा कैलालीमा भने नयाँ अनुहारहरुले बाजी मारेका छन् । तिनै मध्येकी एक हुन्, निपा चोखाल ।
काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलामा खुला तर्फ प्रतिस्पर्धामा सहभागीहरु मध्ये निपाले मत गणना शुरु भएदेखि नै अग्रता कायम गरिन । र अन्तिमसम्म पनि उनलाई कसैले उछिन्न सकेन । र सर्वाधिक (२८७) मत सहित उनी बिजयी भईन । चार जनामध्ये उनको सर्बाधिक मत पाईन । उनी पहिलो नम्बरमा हुदा दोस्रो स्थानमा रहेकी डम्बर महरा(रक्षा) ले २४३ मत पाईन ।
नेपाल ल क्याम्पसबाट बीएलएल गरेकी निपा नेपाली काँग्रेसका नेता पूर्व मन्त्री स्वर्गीय टेक बहादुर चोखालकी छोरी हुन् ।
३८ वर्षीय निपाले सबैलाई चकित पार्दै सर्बाधिक मत मात्र ल्याईनन, आफ्नो बुवाको पदचापलाई पछ्याउदै राजनीतिमा समेत ईन्ट्री गरिन ।
उनले आफ्नो जीतलाई स्वर्गीय बुवा प्रतिको सम्मानका रुपमा लिएकी छन् । भन्छिन्, मलाई व्यक्तिगत रुपमा कसले चिन्छन र ? मेरो जीत मेरो बुवा प्रति नेपाली काँग्रेसका नेता कार्यकर्ताको सम्मान हो । जुन खालको माया, आदर र सहयोग पाए म त्यसलाई शब्दमा बयान गर्न सक्दैन । यो सम्मानका लागि म सबैप्रति आभारी छु ।
व्यवस्थापन र कानुनमा स्नातकोत्तर निपा महिला विकास कानुन मञ्चको जागीर छोडेर राजनीतिमा होमिएकी हुन् । अव उनी राजनीतिसंगै कृषि मार्फत स्वरोजगार र उद्यमशिलताको विकासमा समर्पित हुने बताउछिन् ।
चुनावी सिलसिलामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा गएकी निपाले त्यतिबेला राजनीतिमा होमिने सोच बनाईन, जव उनले आफू टेक बहादुर चोखालकी छोरी भएको बताउदा स्थानीय बासिन्दाले आँशु झारे । भन्छिन्, आम मान्छेको उहाँप्रतिको श्रद्धा र सम्मान देख्दा मेरो बुवा टेक बहादुर चोखाल केवल व्यक्ति मात्र हुनुहुदो रहेनछ, उहाँ त संस्था हुनुहुदो रहेछ । म यतिबेलासम्म कहाँ हराएछु जस्तो लाग्यो । र बाँकी जीवन बुवाले देखाएको आदर्श र निष्ठाको राजनीतिमा होमिने प्रण गरे ।
उनले अव महासमिति सदस्यका लागि तयारी गर्ने बताईन ।
तपाईको प्रतिक्रिया